२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

डेढ वर्षदेखि तलब खान नपाएका उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित

प्रवेशद्वार बाहिर उद्योग परिसरमा खुल्ला पत्रकार सम्मेलन गर्दै मजदुर कर्मचारी। तस्बिरः महेश्वर

झण्डै डेढ वर्षदेखि तलबभत्ता खान नपाएको भन्दै पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका कर्मचारीले आन्दोलन थालेका छन्। तलबभत्ता पाउनका लागि ‘उसिउलि कर्मचारी संघर्ष समिति गठन’ गरेका उनीहरूले शुक्रबार विहान पत्रकार सम्मेलन गरि आन्दोलन थालेको घोषणा गरेका हुन्।

उद्योग प्रवेशद्वार बाहिर परिसरमा आयोजित खुल्ला पत्रकार सम्मेलन संघर्ष समितिले कर्मचारीले खाइपाइ आएको तलबभत्ता, ज्यालादारी मजदुर र सुरक्षाकर्मीको पारिश्रमिक १४ महिनादेखि नपाएकाले आन्दोलन गर्न बाध्य भएको जनाएको छ। संघर्ष समितिका प्रवक्ता आनन्द कुर्मीले १४ महिनादेखि कर्मचारी मजदुरले तलबभत्तालगायत कुनै पनि सेवासुविधा नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको दुःखेसो गरे।

यति लामो समयदेखि तलबभत्ता नपाउँदा आर्थिक अभावका कारण कर्मचारीको जीवन यापन र परिवार चलाउन अत्यन्त कठिन भइरहेको बताउँदै उनले सम्बन्धित उद्योग विभाग, तालुक मन्त्रालय र जिम्मेबार व्यक्तिहरूसम्म पुगेर पटकपटक कुरा राख्दा पनि माग पुरा नभएको गुनासो गरे। कुर्मीले खाइपाइ खाएको सेवा सुविधा नपाउँदा कर्मचारी मजदुरले आफू र जहान छोराछोरी भोकभोकै राख्न बाध्य भएको गुनासो सुनाए।

संघर्ष समितिका अनुसार कर्मचारीलको ४५ महिनादेखि तलबभत्ताबाट कट्टा गरेको सञ्चयकोष र ३५ महिनाको नागरिक लगानी कोष तथा ३ वर्षको बिमावापतको रकम पनि हालसम्म जम्मा गरिएको छैन। त्यस्तै अवकाश प्राप्त १ सय ३९ जना कर्मचारी मजदुरको निवृत्तिभरण (उपदान) भुक्तानी भएको छैन। विरामी हुँदा उपचार गर्ने खर्चसमेत नहुँदा अवकाश प्राप्त ८ जना पूर्वकर्मचारी उपचार नपाएर मृत्युवरण गर्नुपरेको दुखद अवस्थाको स्मरण पत्रकार सममेलनमा गराइयो।

संघर्ष समितिका संयोजक देवेन्द्र झाले उद्योगमा कार्यरत कर्मचारी मजदुरहरूको दायित्व विवरणबारे जानकारी दिँदै २०८२ चैत मसान्तसम्म ८ करोड ८० लाख ५३ हजार ०६६ रुपैयाँ तलबभत्ता भुक्तानी लिन बाँकी रहेको बताए। त्यस्तै सञ्चयकोष ९ करोड ५० लाख ८९ हजार १ सय ३४ दाखिला गर्त बाँकी छ भने नागरिक लगानी कोषवापतको रकम ३ करोड ६९ लाख ६६ हजार २ सय २२ रुपैयाँ बाँकी रहेको झाको भनाइ छ।

आर्थिक वर्ष २०८०/०८१ को २ वर्षको बिमावापतको रकम ६ करोड ७० लाखपनि भुक्तानी गर्न बाँकी छ। त्यस्तै सुरक्षाकर्मीको १३ महिनाको तलबभत्ता वापत २ करोड १३ लाख रुपैयाँ बाँकी रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।

जापान सरकारको अनुदान सहयोगमा २०४४ जेठ ३१ गते स्थापना भइ ०४९ साल माघदेखि गैँडा ब्राण्डको सिमेन्टको व्यवसायिक उत्पादन थालेको उद्योग विगत ३ वर्षयता सञ्चालन अनियमित हुँदै केही समययता पूर्ण रूपमा ठप्प भएको छ। संघर्ष समिति सदस्य चक्र कार्कीले व्यवस्थापन पक्षको कमजोरी, सरकारको बेवास्ता र सञ्चालन बजेट अभावमा उद्योग बन्द हुन पुगेको बताए।

दैनिक ८ सय मेट्रिकटन क्लिंकर उत्पादन क्षमता रहेको उद्योग बन्द भएसँगै कार्यरत कर्मचारी मजदुर तलबभत्ता खान नपाएर आन्दोलित हुनु परेको हो। अर्का कर्मचारी शंकर थापाले केही समयअघि २ साता उद्योग चल्दा उत्पादन भएको केही परिमाणको क्लिंकर पनि बोरा अभावमा बिक्री गर्न रोकिएको छ। उद्योग सञ्चालन गर्ने सामान्य खर्चसमेत नभएपछि बोरा खरिद गर्नै नसकेर सिमेन्ट बिक्री रोकिनेसम्मको निरीह अवस्था उद्योगले पहिलो पटक भोगेको थापाले बताए।

गत वर्ष १३ दिन मात्र उद्योग सञ्चालन हुँदा उत्पादिन सिमेन्ट बेचेर ३ महिनाको तलबभत्ता खुवाइएको थियो। वर्षमा ३ महिना लगातार सञ्चालन भयो भने कर्मचारी तलबभत्ता, सञ्चयकोष, नागरिक लगानी कोष, सुरक्षाकर्मी, ज्यालादारी मजदुर, विद्युत महसुल सबै तिर्न पुग्ने गरि आम्दानी हुने भए पनि नियमित उद्योग चलाउने गरिएको छैन।

गत फागुन २१ को निर्वाचन अभियानको क्रममा उदयपुर आएका बालेन्द्र साह उद्योग पुगेर निरीक्षण गर्दै गेटबाहिर फोटो खिचेर उद्योग छिट्टै सञ्चालन गर्ने स्टाटस फेसबुकमा पोष्ट गरेका थिए। अहिले साह प्रधानमन्त्री भएको २ महिना पुग्नलाग्दा उद्योगका कर्मचारी आन्दोलित भएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८३ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App