२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

कर्मचारी कटौतीपछि दुई वडा कार्यालय दुई हप्तादेखि बन्द

रौतहटको वृन्दावन नगरपालिकाका दुई वडा कार्यालयहरू कर्मचारी अभावका कारण दुई हप्तादेखि बन्द रहेका छन्। वडा कार्यालयहरू बन्द हुँदा सेवाग्राही निकै मर्कामा परेका छन् ।

वृन्दावन नगरपालिकाको वडा नम्बर २ र ४ कार्यालयहरू गत दुई हप्तादेखि बन्द रहेका छन् । नगरपालिकाले कर्मचारी कटौती गरेपछि वडा कार्यालयहरू बन्द भएका हुन् ।

वडा नम्बर २ का वडाध्यक्ष सिकेन्द्र पटेलले कर्मचारी कटौतीको मारमा आफ्नो कार्यालय परेको बताउँदै कम्प्युटर कर्मचारी नै कटौती भएपछि कार्यालयको कामकाज ठप्प भएको गुनासो गरे। नगरपालिकाले वैकल्पिक कर्मचारीको व्यवस्था नगरी करारका कर्मचारीलाई हचुवाको भरमा हटाएपछि कार्यालयको काम दुई हप्तादेखि पूर्णतया ठप्प भएको दुखेसो पोखेका छन् ।

वडाध्यक्ष पटेलले नगर प्रमुख विनोद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेलले आफ्नो वडा कार्यालयमाथि विभेद गरेको आरोप पनि लगाएका छन् । करारमा कार्यरत कर्मचारी हटाउँदा अन्य वैकल्पिक व्यवस्था नगरेको कारण वडा कार्यालयको सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको वडाध्यक्ष पटेलको भनाइ छ । वडाध्यक्ष पटेलले दुई हप्तादेखि वडा कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध भएको बताएका छन् ।

नगरपालिकामा पटक पटक आग्रह गर्दा पनि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कुरा नसुनेको आरोप वडाध्यक्ष पटेलको रहेको छ । वडा नम्बर ४ मा पनि उस्तै समस्या रहेको पाइएको छ ।

नगर प्रमुख विनोद प्रसाद कुर्मीले कर्मचारी कटौती प्रशासनिक सुधारको हिस्सा भएको र बजेट अभावको कारण भनेजस्तो कर्मचारी राख्न नसकिएको बताएका छन् । वडा कार्यालय बन्द भएको विषयमा आफूलाई जानकारी नभएको बताउँदै नगर प्रमुख पटेलले कर्मचारीको व्यवस्थापन नियम र प्रक्रियाले मात्र हुने स्पष्ट पारेका छन् । सेवाग्राहीलाई विशेष मर्का परेको समयमा नगरपालिकाले नै सबै काम गरिरहेको बताउँदै नगर प्रमुख पटेलले अरुलाई  भ्रमित पार्न अनेक बखेडा झिकिएको बताएका छन् ।

नगरपालिकाको कार्यालय विश्रामपुरमा हुनुपर्नेमा हर्षाहा चौकमा अस्थायी मुकाम कायम गरी सञ्चालन भइरहँदा वडा नम्बर २ का सेवाग्राहीलाई पुग्न निकै समस्या भएको गुनासो पनि रहेको छ । वडा कार्यालयबाट हुने कामको लागि नगरपालिकाको अस्थायी कार्यालयमा जानुपर्दा एक घन्टाको काममा एक दिन लागिरहेको गुनासो सेवाग्राहीहरूको रहेको छ ।

सम्भव भएसम्म छिटो वडा कार्यालयमा कम्प्युटर चलाउन जान्ने कर्मचारीको व्यवस्था गरिदिनको लागि वडाध्यक्ष पटेलले माग गरेका छन् । वडा कार्यालयबाट हुने सेवा प्रवाह ठप्प भएकोले सम्बन्धित निकायले पनि पहल गरी समस्या समाधान गराइदिन सेवाग्राहीहरूले आग्रह गरेका छन् ।

नगर प्रमुख पटेल र वडाध्यक्ष पटेलबिच मेलमिलाप नहुँदा त्यसको प्रभाव वडा कार्यालय र वडाको विकास निर्माणमा परेको गुनासो स्थानीयवासीको रहेको छ ।

प्रकाशित: २६ श्रावण २०८२ १७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App