झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी २२ वर्षीया सुजता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजेतिर मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा पाठकको मृत्यु भएको हो। यसैगरी, झापाको बिर्तामोड चौकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटोरिक्सा एकापसमा ठोक्किँदा घाइते मोटरसाइकलमा सवार ती युवतीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्कीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताए।
प्रकाशित: ५ माघ २०८२ ११:५५ सोमबार





