रसुवामा बाढी आउँदा बेपत्ता भएका बारबर्दिया नगरपालिका–१० फेनापति र गुमस्ता गाउँका युवा जिप्पन थारु, सन्तोष र बुद्धिराम दहित नजिकका नातेदार हुन । तीन जना रोजगारीका लागि रसुवा स्थित एक हाइड्रोपावरमा काम गर्न गएका थिए । ३६ वर्षीय जीप्पन चौधरीको नातामा जेठान सन्तोष पर्छन् भने साला बुद्धिराम हुन । तीनै जना नातेदार घर परिवार छाडेर रोजगारीका लागि १५ दिन अघि रसुवा पुगेको आफन्त बताउँछन् । जीप्पनकी श्रीमती अनिता सन्तोषकी बहिनी हुन् ।
यस्तै, रसुवाको बाढीमा बेपत्ता दुई जना युवा बढैयाताल गाउँपालिकाका हुन । बढैयाताल गाउँपालिका ६ भदैहिका २४ वर्षीय लक्ष्मीनारायण थारुको नाम पनि बेपत्ता सूचिमा छ भने बेपत्ता सूचिमा रहेका ३० वर्षीय सुरेश थारू बारबर्दिया वडा नम्बर ९ का भएको प्रहरीले जनाएको छ ।
प्रहरीको रेकर्डमा रसुवाको बाढीमा परेर पाँच जना युवा बेपत्ता भएको देखिन्छ । पाँच जनालाई रसुवा जिल्लाको गोसाईँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीमा तिब्बतको ल्हेन्दे खोला बगाएको खुलेको छ । बाढीमा बेपत्ता भएका पाँच जना युवा २४ देखि ३७ बर्ष उमेर समूह भित्र पर्छन् । बेपत्ता तीन जना बारबर्दिया नगरपालिका–१० का हुन् भने दुई जना बढैयाताल गाउँपालिकाका रहेको प्रहरीको रेकर्डमा खुलेको हो ।
हामीले दुखको घडीमा बेपत्ता परिवारको घाउमा मल्हम लगाउन भेटघाट र यथाशीघ्र वास्तविक अवस्थामा पहल गरिदिन दिन पहल गरिरहेको नगर प्रमुख छबिलाल थारुले बताए । ‘नगरबासी दुखद खबरसँग रोएको छ,हामीले वास्तविक अवस्था पत्ता लगाउन भनेका छौँ,’ उनले भने । उनका अनुसार गाउँ शोकको आशुमा डुबेका छ ।
दुखद खबरले शोकमा डुबेका घरमा जनप्रतिनिधि पुगेर सम्झाई बुझाई गरिरहेका छन् । शोकमा डुबेका गाउँका वडा अध्यक्ष रणबहादुर चौधरी सदस्यको टिमले शोक मग्न गाउँमा सम्झाई बुझाई गरेर पिडा लुकाइरहेका छन् । बेपत्ता युवाको वास्तविक अवस्था पत्ता लगाउन र शव परिवारलाई बुझाउन ढिलाई नगर्न प्रशासनलाई आग्रह गरिरहेको एक जनप्रतिनिधिले बताए । बेपत्ता युवा चार पाँच बर्ष अघि देखि काममा जानेको गरेका बताइन्छ ।
बेपत्ता भएसँगै खोजी कार्य भइरहेकाले रसुवा प्रहरीसँग निरन्तर सम्पर्क भइरहेको प्रहरी उपरीक्षक केदार खनालले बताए । ‘पीडित परिवारसँग प्रहरीले सम्पर्क गरिरहेको छ,’उनले भने,‘यता,बेपत्ता युवाको खोजी कार्यमा भइरहेको बेला रसुवा प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको छ ।’ उनका अनुसार एक प्रहरी जुनियर अधिकृत शव फेला परे पनि यहाँका युवाको खोजी कार्य भइरहेको अपडेट छ ।
प्रकाशित: २५ असार २०८२ १६:५१ बुधबार





