२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहटको गरुडा नगरपालिका-५, शिवनगरस्थित लमाहा नदीमा डुबेर शनिबार दिउँसो दुई बालकको मृत्यु भएको छ।

शिवनगर मन्दिरको उत्तरतर्फ रहेको खोलामा नुहाउन गएका दुई बालकको दिउँसो करिब १ बजे डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा रौतहटको देवाही गोनाही नगरपालिका-३ घर भई हाल गरुडा-५ शिवनगरमा टिभिएस मोटरसाइकलको सोरुम सञ्चालन गर्दै आएका सञ्जीव साहका करिब १० वर्षीय छोरा नीरज साह र उनका दाजु राजकिशोर साहका करिब १० वर्षीय छोरा अर्जुन साह रहेका छन्।

स्थानीयका अनुसार गर्मी बढेपछि खाना खाएर दुवै जना सँगै नुहाउन गएका थिए। नुहाउने क्रममा गहिरो पानीमा डुब्न थालेपछि सँगै रहेका अन्य बालबालिकाले दौडेर अभिभावकलाई खबर गरेका थिए।

तत्काल स्थानीयवासी घटनास्थल पुगी खोजी गर्दा दुवैलाई अचेत अवस्थामा पानीबाट बाहिर निकालिएको थियो।

स्थानीयले पेट थिच्ने र मुखबाट सास दिने जस्ता प्राथमिक उपचारको प्रयास गरे पनि सफल नभएपछि उनीहरूलाई तत्कालै नजिकैको याशिव सञ्जीवनी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय शिवनगरले जानकारी दिएको छ।

प्रकाशित: १ कार्तिक २०८२ १८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App