मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक खुलाउन अझै समय लाग्ने भएको छ।
सडक डिभिजन भरतपुरले बुधबार दिउँसो ३ बजे एक सूचना जारी गर्दै पहिरो पन्छाउने काम निरन्तर भइरहे पनि पूर्ण रूपमा सडक सञ्चालनमा आउन केही दिन लाग्ने बताएको छ।
पहिरोको प्रकृति हेर्दा आज सडक खुल्ने सम्भावना न्यून छ। हाल सो क्षेत्रमा भारी वर्षा भइरहेकाले पनि पन्छाउने कार्यमा अवरोध भइरहेकाे छ।
मंगलबार अपरान्ह ४:५० बजे तुइन खोला पुल नजिकै खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक डिभिजनका अनुसार, पहिरो पन्छाउनका लागि नारायणगढ र मुग्लिन दुवैतर्फबाट ६ वटा हेभी उपकरण (एक्स्काभेटर, लोडर, ब्याक हो लोडर) निरन्तर परिचालन गरिएको छ भने थप उपकरणहरू पनि मगाइएको छ।
‘पहिरो खसेको ठाउँमा काम गर्ने पर्याप्त ठाउँ नहुँदा सबै उपकरणहरू एकैपटक सञ्चालन गर्न सकिएको छैन,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ, ‘यसकारण पहिरो पन्छाउन थप समय लाग्नेछ।’
विभागले सडक खुल्न समय लाग्ने भएकाले उक्त मार्ग प्रयोग गर्ने सम्पूर्ण सवारीधनी तथा यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न पुनः अनुरोध गरेको छ। दसैं नजिकिँदै गर्दा देशकै प्रमुख राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका छन् र वैकल्पिक मार्गमा सवारीको चाप बढेको छ।
प्रकाशित: ८ आश्विन २०८२ १५:२१ बुधबार





