ट्राफिक प्रहरीले आज (मंगलबार) गरेको सरप्राईज चेकिङमा ९८ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत सप्राइज चेकिङका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ७ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार रातो बत्ति उल्लङ्घन गर्ने, लेन अनुशासन कायम नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९१ वटा सवारी साधनका चालकहरूलाई कारबाही गरिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्ने भन्दै उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि ट्राफिक प्रहरीले यात्रुसँग अनुरोध गरेको छ।
प्रकाशित: ८ वैशाख २०८३ १२:१६ मंगलबार


-600x400.jpg)


