२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन्। गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रूपमा आन्तरिक पर्यटकहरूको चाप भएको थियो।

उक्त अवधिमा दैनिक दुई सयदेखि पाँच सयसम्म पर्यटकहरू यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी तेज गुरुङले बताए। उनका अनुसार, दसैँतिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन्।

गत वर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरूको सुविधाका लागि होटलहरू सञ्चालनमा आएका छन्।

नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँच पुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पूरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरूका रोजाइमा छ।

पदमार्ग सञ्चालनमा आएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरूको आगमन बढेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्। अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुते लगायतका झरना, मिस्त्री खोलाको रमणीय दृष्यहरू हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतीहरूको यस क्षेत्रको भ्रमणमा आउने क्रम बढेको छ।  

अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचारप्रसार, पूर्वाधार निर्माण र आधारभूत खाना बस्नको सुविधाले पर्यटकहरूको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

उनका अनुसार अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाइमा नारच्याङदेखि आधार शिविरमा मनाइएको ‘अन्नपूर्ण हीरक जयन्ती महोत्सव’ ले यस क्षेत्रको प्रचारप्रसारमा व्यापकता गराएको हो।

उनले भने, ‘‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरूको क्षमताभन्दा बढी पर्यटकहरूको आगमन भयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौं, भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउन एक्यापसम्ँ समन्वय गर्न लागेका छाैं, पर्यटकहरूको बसाइ सहज बनाउनु हाम्रो पहिलो दायित्व हो।’’

अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पुर्‍याउन समेत आवश्यक पहल थालेको छ।

पर्यटकहरुको आगमन बढेसँगै पदमार्ग र आधार शिविर क्षेत्रमा फोहोर बढेको कारण गाउँपालिकाले सरसफाइ अभियन्ताहरूको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले बताए।

अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रूपमा मनाउने प्रवन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्ग लगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रूपैयाँ बजेट परिचालन गर्ने जनाएको छ। 

प्रकाशित: २० कार्तिक २०८२ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App