२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

साहित्यको छायाँबाट विज्ञानको उज्यालोतिरः उपकुलपति दीपक अर्यालको यात्रा

‘साहित्यको फूलबारीमा हुर्किएको त्यो बिरुवा, अब आफ्नै बगैंचाको राजा बनेको छ।’

यो भनाई  भर्खरै उपकुलपति नियुक्त भएका डा. दीपक अर्यालको जीवनमा पूर्ण रूपमा चरितार्थ हुन्छ। भैरव अर्याल अर्थात नेपाली व्यङ्ग्य साहित्यका एक स्तम्भ, अनि उनका छोरा, डा. दीपक अर्याल, विज्ञानका अशल विद्यार्थी।

साहित्यको तेजिलो कापीबाट विज्ञानको मौन प्रयोगशालासम्मको निरन्तर यात्राले डा. अर्याललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदसम्म पुर्‍याएको छ। जब भैरव अर्यालले आफ्नो व्यङ्ग्यात्मक लेख ‘जय भुँडी’ वा ‘ऐना’ मा समाजको विकृति, विडम्बना र दम्भको पर्दाफास गर्थे, सायद उनले कल्पना पनि गरेका थिएनन् होला कि उनका सुपुत्र एकदिन त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नेछन्।

साहित्यको बगैंचामा हुर्किएका डा. दिपक अर्यालले मौसम, जलवायु, जलचक्र र प्रदूषणको जटिल संसारमा अनुसन्धानको बिरुवा रोपे। भैरवले शब्दको काँडाबाट सत्ता र समाजलाई बाटो देखाउने काम गर्थे। दीपकले डेटा र विश्लेषणबाट प्रकृति र नीतिमा बाटो देखाउँदै आए।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार प्रा. डा. दीपक अर्याललाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरे।

शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले प्रस्ताव गरेको प्रा. डा. खड्ग केसी, प्रा. डा. बिनिल अर्याल र प्रा. डा. दीपक अर्याल मध्यबाट उनी छानिएका हुन्।  

यसअघिका उपकुलपति केशरजंग बरालले पदबाट राजीनामा दिएपछि शिक्षाध्यक्ष खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

डा. दीपक अर्याल त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागमा कार्यरत प्राध्यापक हुन्। उनले मौसम विज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका छन् भने जापानको नागोया विश्वविद्यालयबाट हाइड्रोस्फेरिक एट्मोस्पेरिक साइन्समा स्नातकोत्तर अध्ययन गरेका छन्।

नेपालमा मौसम, जलवायु, हिमाली अनुसन्धान र वातावरणीय विज्ञानमा विशेष ज्ञान राख्ने अर्यालको अन्तर्राष्ट्रिय वैज्ञानिक समाजमा समेत पहिचान छ।

विश्वकै उच्च स्थानमा अवस्थित मौसम केन्द्र स्थापनादेखि लिएर हिमाली आँधी र अक्सिजनको अध्ययनसम्ममा उनले योगदान दिएका छन्। उनका  विभिन्न अनुसन्धानमुलक लेखहरु विभिन्न प्रतिष्ठि जर्नलहरुमा छापिएका छन्।

उनका  २००६ देखि २०२० सम्म जलवायु परिवर्तन, वायुमण्डलीय प्रदूषण, प्रि–मनसुन आँधी, हिउँदे झरी, एरोसोल अध्ययन लगायतका विषयमा २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानहरू प्रकाशित गरिसकेका छन्।

कुनैबेला व्यङ्ग्य, चोटिलो गद्य र कटाक्षमार्फत नेपाली जनचेतनालाई झक्झक्याउने भैरव अर्यालका  सन्तान जो विज्ञानको भाषामा देशको जलवायु चेतना र वैज्ञानिक नेतृत्वलाई अघि बढाइरहेका थिए आज सिंगो समाजलाई बाटो देखाएका ठाउँमा पुगेका छन्।

प्रा. अर्याल त्रिविका शैक्षिक प्रणालीलाई नविकरण गर्ने खाँचो महसुस गर्नुपर्ने बताउँदै आएका थिए। विज्ञान शिक्षाको गुणस्तर, अनुसन्धानको प्रोत्साहन, अन्तर्राष्ट्रिय सहकार्य, र विद्यार्थी–शिक्षक सम्बन्धको सुधारप्रति उनको प्राथमिकतामा छन्।

विशिष्ट जलवायु विज्ञका रूपमा चरम मौसमीय घटनाहरू तथा वायु प्रदूषण सम्बन्धी प्रक्रिया बुझ्ने क्षेत्रमा गहिरो अनुसन्धान गर्दै आएका अर्यालले झण्डै तीन दशकदेखि सक्रिय अनुसन्धानरत रही ३५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख प्रकाशित गरेका छन्।

उनका मुख्य अनुसन्धान क्षेत्रहरूमा हिमाली भूभागमा हुने संवहनीय गतिविधिहरू, वायुमण्डलीय प्रदूषकहरूको यातायात र रूपान्तरण प्रक्रियाहरू पर्दछन्।

उनले अमेरिकी भूगर्भ संघ, युरोपेली भूविज्ञान संघ, जापान भूविज्ञान संघ, जस्ता ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आफ्ना अनुसन्धान प्रस्तुत गर्दै विश्वभरका वैज्ञानिकहरूसँग अन्तरक्रिया गरेका छन्।

उनी केवल एक अनुसन्धानकर्ता होइनन्, उनी योजना, नेतृत्व र कार्यान्वयनको समझदारी भएका वैज्ञानिक हुन्। तर नयाँ उपकुलपतिको रूपमा उनको कार्यकाल सहज हुने कुनै ग्यारेन्टी छैन।

निवर्तमान उपकुलपति केशरजंग बरालको पालामा त्रिविमा अस्थिरता, तालाबन्दी, आंशिक तथा करार शिक्षकहरूको आन्दोलनले प्रबन्धनमा चुनौतीहरू प्रस्तुत गरेका थिए।

अब डा. अर्यालको काँधमा ती चुनौतीहरू समाधान गर्दै शिक्षामा गुणस्तर ल्याउने जिम्मेवारी छ। भैरवको लेखनीले कहिल्यै जीवनको विडम्बनालाई नजरअन्दाज गरेन, र आज उनका सुपुत्र डा. दीपक अर्यालले जीवनको यथार्थलाई  शिक्षाको माध्यमबाट उत्तर दिन सक्नु पर्छ।

साहित्यले समाजलाई सचेत बनाउने प्रयास गर्छ, र अब विज्ञानले  त्यस समाजलाई समाधान दिने बाटो देखाउनेछ। व्यङ्ग्यको घरबाट विज्ञानको सिंहदरबारमा प्रवेश गरेका उपकुलपति डा. दीपक अर्यालप्रति शुभकामना !

प्रकाशित: २५ असार २०८२ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App