२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

चितवनबाट बाघ गणना सुरु

तस्बिर: वसन्त ढुंगाना/नागरिक

नियमित चार वर्षमा गरिने बाघ गणना चिवतनबाट सुरु भएको छ । चितवनको सौराहामा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक कार्यक्रमको आयोजना गरी मंगलबार (आज) वनमन्त्री माधवप्रसाद चौलागाईले बाघ गणनाको औपचारिक रुपमा सुरु गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौलागाईले बाघ गणनाको कामलाई वन मन्त्रालयले सहजिकरण गर्ने बताए । ‘बाघ गणना जोखिम पूर्ण काम हो । सुरक्षामा ध्यान दिएर काम गर्नुहोला’ उनले भने ‘आवश्यक सहजिकरण गर्न हामी तयार छौँ।’  

जलवायू परिवर्तनले विश्वमा बाघको थपघट भइरहेको भन्दै उनले बासस्थानको व्यवस्थापन गर्नुपर्ने बताए । बासस्थान सुधार, आहारा प्रजाति, संरक्षण क्षेत्र विस्तार चोरी सिकारी नियन्त्रण र समुदाय स्तरमा चेतना सके बाघको संख्या बृद्धि हुने उनको भनाई छ ।  

राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक बुद्धिसागर पौडेलले नेपालको तराई भू–परिधिका पाँचवटा राष्ट्रिय निकुञ्जहरुमा गणना गरिने जानकारी दिए । उनले साढे तीन महिनामा गणना सक्नेगरी काम सुरु गरिएको बताए । नेपाली सेना, समुदायको सहयोगमा गणना गरिने उनको भनाई छ ।  

वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित गरिनेछ ।  

तस्बिर: वसन्त ढुंगाना/नागरिक

नेपालमा तीन वटा कम्प्लेक्स बनाएर गणना हुँदैन छ । बाघ गणनाका लागि २५० जनाको जनशक्ति र १ हजार १ सय वटा क्यामेरा जडान मार्फत हुनेछ । पहिलो चरणमा चितवन पर्सा कम्प्लेक्सबाट हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा वरिष्ठ इकोलोजिष्ट हरिभन्द्र आचार्यले जानकारी दिए । यस क्षेत्रमा करिव २ महिना समय लाग्नेछ । त्यसपछि बाँके बर्दिया कम्प्लेक्समा गणना गरिने उनले जानकारी दिए । चितवन र बर्दियामा २ देखि ४ वटा ब्लक हुनेछन् । एउटा ब्लक भित्र २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाईका वर्गाकार ग्रीड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिने उनले बताए । ‘एक ठाउँमा कम्तिमा १५ दिनसम्म क्यामेरा राखिन्छ,’ उनले भने ‘एक÷दुई दिनको बिचमा प्राविधिकले क्यामेराको रेखदेख गर्नेछन् ।’ चितवन राष्ट्रिय निकुञ्जमा ९ सय वटा ग्रीड तोकिएको छ । क्यामेरा बाघको फोटो खिच्नेगरी ४५ देखि ६० मिटरको उचाईमा राखिने छ ।  

पुस १ गतेदेखि सुरु भएको गणनाको नतिजा जुलाई १९ बाघ दिवसको दिन सार्वजनिक गरिने उनले बताए । बाघ गणनाको लागि ३ करोड रुपैयाँ खर्च लाग्ने राष्ट्रिय निकुञ्ज विभागको अनुमान छ । सर्वेक्षणबाट प्राप्त नतिजाले बाघ, अन्य प्रजाति, बासस्थानको अवस्थाबारेमा महत्वपूर्ण जानकारी प्राप्त हुने र बाघ अन्य प्रजाति संरक्षणमा नीति, कार्यक्रम, योजना बनाई संरक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

विश्वमा नै पहिलोपटक सन् १९८३मा टाइगर इकोलोजिष्टको स्मिथ सोनियको वैज्ञानिक टोलीले चितवनको सौराहामा रेडियो क्लर जडान गरेर बाघको होम रेञ्ज विषयमा अध्ययन गरिएको थियो । त्यसपछि नेपालमा सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिएको थियो । क्यामेरा प्रविधिबाट भने सन् २००९ बाट सुरु भएको उनले जानकारी दिए । पछिल्लो सन् २०२२को तथ्यांक अनुसार नेपालमा ३५५ वटा बाघ रहेका थिए ।  

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २८ वटा बाघ थिए । पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, बाँके राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा १ सय २५ र शुक्लाफाँटा–लालझाडी–जोगबुढा क्षेत्रमा ३६ वटा वश्यक बाघ पाइएको थियो । त्यसअघि सन् २०१० मा सार्वजनिक तथ्यांकमा नेपालमा १२१, स २०१४मा १९८ र सन् २०१८मा २३५ वटा बाघ रहेका थिए ।  

बाघ नेपाल लगायत भारत, चीन, बंगलादेश, भुटान, क्याम्बोडिया, लावोस, इन्डोनेशिया, मलेशिया, म्यानमार, रसिया, थाइल्याण्ड र भियतनाम गरि एसियाका १३ वटा देशमा मात्र पाईनछ । नेपालमा प्रत्येक वर्ष वर्षकाको संख्या बढेको छ । अहिले नेपाल बाघ संरक्षणमा विश्वमै च्याम्पिएनको रुपमा चिनिएको महानिर्देशक पौडेले बताए । 

प्रकाशित: १ पुस २०८२ १९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App