‘टिकटकर तुलसा कलेक्सन’का नामले चिनिने तुल्सी अधिकारीलाई जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि पुनः प्रहरी हिरासतमा पठाइएको छ।
थाइल्याण्डमा पक्राउ परेपछि नेपाल ल्याइएकी अधिकारीलाई शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरमा पेश गरिएको थियो। सोमबार ललितपुर जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइए पनि बहस प्रक्रिया पूरा हुन नसकेपछि उनलाई फेरि प्रहरी हिरासतमा राखिएको हो।
ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार थुनछेक बहस मंगलबार पनि निरन्तर हुने भएकाले अधिकारीलाई त्यसबेलासम्मका लागि जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।
अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए। उक्त जाहेरी दर्तापछि उनी फरार भएकी थिइन्।
प्रहरीका अनुसार अधिकारी चीन हुँदै थाइल्याण्ड पुगेको सूचना प्राप्त भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा खोजी प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा उनलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो।
हाल अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा ठगी, सम्पत्ति शुद्धीकरण तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको छ। अदालतले मंगलबार थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १८ जेष्ठ २०८३ २०:२१ सोमबार





