२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर

तस्बिर: दिपक खत्री

भोटेकोसी गाउँपालिका–३ लार्चाका दीपक तामाङको परिवार त्यहाँ ८/९ पुस्तादेखि बस्दै आएको छ। उनको घर पहाडको भित्तामा अडिएको छ। तलतिर भोटेकोसी सुसाउँछ । घर छेउमै रहेको भैरव कुण्ड खहरे हरेक बर्खा याममा जोडतोडले उर्लन्छ।

पहिरो, भोटेकोसी र भैरव कुण्डको घेराबन्दीले सिर्जित जोखिममा छ तामाङको घर। उनलाई आफ्नो घर जोखिममा छ भन्ने थाहा पनि छ, तर छोड्न सकेका छैनन्।

‘घर जोखिममा छ भन्ने थाहा छ। मौसम खराब हुँदा डर पनि लाग्छ,’ तामाङ भन्छन्,‘तर, कहाँ जानु १ ओत लाग्ने एक यही त छ।’ उनको घर मात्र होइन, लार्चामा उनीजस्तै ७२ घर परिवार यसै गरी जोखिममा बसिरहेका छन्। ‘अहिले एक ठाउँमा खान्छौँ, दिनभर काम गर्छौँ, अनि सुत्न अर्कोतिर जान्छौँ,’ उनले भने।

पछिल्लो समय बर्खामा राति ओत लाग्न सुरक्षित ठाउँमा टेन्ट गाडिएका छन्। त्यहाँ गएर सबै सुत्छन्। नजिकैको लार्चा बजारका सबैजसो बासिन्दा पनि उसै गरी टेन्टमा रात बिताउन आउँछन्। २०७७ सालमा आएको बाढीले पूरै लार्चा बस्तीमा क्षति पुर्‍याएको थियो। ‘त्यसयता हामी त्यसै गरी बसिरहेका छौँ,’ तामाङले सुनाए।

तस्बिर: निर्मल राउत

उसो त ०७७ सालको बाढीपछि सबै ७२ घर स्थानान्तरणको कुरा उठेको थियो। ‘७२ घरको कागज बनाएर हामीले जिल्लामा लगेका थियौँ,’ तामाङले भने, ‘उहाँहरूले हामी फोन गर्छौँ भन्नुभएको थियो। तर अहिलेसम्म फोन आएको छैन।’

त्यसयता लार्चाबासीले आफै थातथलो छाडेर बसाइ सर्न सकेका छैनन्। ‘छाडेर जाने पनि कहाँरु केही मेसो नै जुर्दैन। गए पनि घर मात्र बनाएरै बसे खाने के, लाउने केरु’ तामाङले गुनासो पोखे। उनका अनुसार केही लार्चाबासी नजिकै गुम्बा डाँडा भन्ने ठाउँमा सरेका छन्। ‘त्यहाँ जग्गा किन्न आनाकै दुई लाख पर्छ रे १ घडेरी किन्नै ८र९ लाख लाग्ने। त्यत्रो पैसा कहाँबाट ल्याउनेरु,’ उनले प्रश्न गरे।

उसो त लार्चाबासीले सरकारसमक्ष थप माग र गुनासो नराखेका पनि होइनन्। बरु भन्दाभन्दा थाकेका हुन्। तामाङ भन्छन्, ‘कति भन्नु हजुर । एक दुई पटक पो भन्नु। वडा, पालिका र जिल्ला धाउँदाधाउँदै वाक्क भइसक्यौँ।’  

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जब ‘बाढी सूचना’ दिन्छ, बाह्रबिसे नगरपालिका बाह्रबिसे बजार बासी दुर्गाप्रसाद भण्डारीलाई चिन्ता सुरु हुन्छ। भोटेकोसी किनारको बाह्रबिसे बजारमा भण्डारी वर्षौँदेखि बस्दै आएका छन्।

भण्डारीले बजार नजिकैको जुरे पहिरो र भूकम्पको कहरबाट विपद्को पाठ सिकेका छन्। जसले भोटेकोसीको सम्भावित बाढीको जोखिमको स्तर स्मरण पनि गराएका छन्। ‘अब भोटेकोसीमा बाढी आएर बस्ती नै लान्छ की भन्ने डर लागिरहन्छ,’ भण्डारी भन्छन्।

तस्बिर: निर्मल राउत

भण्डारीको भय मेट्ने कुनै अर्को उपाय पनि छैन। ‘बस्ती नै जोखिममा छ भन्ने थाहा छ। अब जाने पनि कहाँ र ?,’ उनी भन्छन्, ‘घर छोड्ने भन्ने कुरा हुँदैन। अन्त गएर बस्ने ठाउँ छैन।’

उसो त नगरपालिकाले विपद्का बारेमा जानकारी दिन भाइबर ग्रुप बनाएको छ। प्रशासनले बाढी सूचना निकाल्छ। सूचना आए लगत्तै भाइबरमा सूचना प्रवाह भइहाल्छ। तर, त्यो सूचना पाएपछि कहाँ जाने भन्ने द्विविधा स्थानीय बासीमा उत्पन्न हुन्छ। अत्यधिक जोखिमयुक्त घर भएकाहरू झरी परिरहेकै भए पनि ओतबिनै खुला र सुरक्षित स्थानतर्फ निस्किने गर्छन्।

भण्डारीलाई जोखिमका बस्ती सरकारले स्थानान्तरण गरिदिए हुन्थ्यो भन्ने लाग्छ। ‘तर फेरी थोरै छैन बस्तीहरू धेरै छन्। सरकारले पनि लगेर पनि कहाँ–कहाँसम्म राखोस्। राखेकै ठाउँमा पनि बस्न सकिन्छ÷सकिन्न,’ उनी आफ्नो मनको अन्तर्द्वन्द्व बिसाउँछन्।

उता सुनकोसी किनारको पर्यटकीय बजार सुकुटेमा होटेल व्यवसाय गर्ने अञ्जन खड्काको मनोदशा पनि तामाङ र भण्डारीको भन्दा कम छैन। उनले सुकुटेमा व्यवसाय गर्न थालेको १० वर्ष भयो। त्यही व्यवसायले उनको घरपरिवार धानेको छ।

‘यही सुनकोसी नदी हेर्न पर्यटक आउँछन्। तीनै पर्यटकले व्यवसाय धानेको छ। घरै धानेको व्यवसाय पनि कसरी छाड्ने ?,’ खड्का सुनाउँछन्, ‘बरु सरकारले बाढी नियन्त्रणका उपाय गरिदिए सुरक्षित भइन्थ्यो। नभए घर धानेको नदीले जीवन लैजान्छ कि भन्ने चिन्ता लाग्छ।’

तस्बिर: निर्मल राउत

बर्खामा जीवन जोगाउन चनाखो त छन् नै उनी । ‘प्रशासनले सूचना जारी गरिहाले सपरिवारै निस्किन्छौँ। माथितिर खोला बढे तातोपानी, बाह्रबिसे, खाडिचौरका बासिन्दाले जानकारी पनि दिन्छन् । अनि त्यही अनुसार तयारी गर्छौँ’, खड्का भन्छन्। तर भौतिक सम्पत्तिको सुरक्षा भने यत्तिले मात्र सम्भव नहुने उनी बताउँछन्।

यो विषयमा तीन तहकै सरकारले काम गरिदिनुपर्ने उनको आग्रह छ। ‘हामीले राज्यलाई कर तिरेर व्यवसाय गरेका छौँ। चार महिना बाढी आउँछ भन्दैमा अरू ८ महिना यसै बस्ने पनि हुँदैन,’ उनले भने, ‘त्यसैले सरकारले सुरक्षा दिनुपर्छ। बस्ती सुरक्षा योजना कार्यान्वयन गर्नुपर्छ। पूर्व सूचना दिने साइरन जडान गर्नुपर्छ।’  

भोटेकोसी नदी चीनको तिब्बती क्षेत्रको न्यालम हुँदै नेपालतर्फ आउँछ। न्यालम क्षेत्रमा धेरै वर्षा हुँदा नेपालमा ठुलो बाढीको जोखिम हुन्छ। उता ठुलो वर्षा हुँदा चिनियाँ अधिकारीले नेपालतर्फ जानकारी गराउँदै आएका पनि छन्। सोही सूचनाका आधारमा सिन्धुपाल्चोक प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गर्छ।

जोखिममा २२ बस्ती र ८५० परिवार  

भोटेकोसी र सुनकोसी नदी किनारमा २२ वटा बस्ती र ८५० परिवार जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जसमा तातोपानी, कोदारी, लार्चा, हिन्दी, खुकण्डोल, लिपिङ, चाकु, बाह्रबिसे बजार, जम्बु, खागदल, बसेरी, सखुवा, जुरे, कल्लेरी, सुनकोरी, सुनकोसी, पाग्रेटार, खाडिचौर कोठे, बलेफी र सुकुटे बस्ती बाढीको जोखिममा छन्।  

श्रोत: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक

नेपाल–चीनबिच दिनहुँ समन्वय  

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा विपद्को पूर्वानुमान र क्षति न्यूनीकरणका लागि दुई देशका अधिकारीबिचमा दिनहुँ समन्वय हुने गरेको बताउँछन्।  

‘अहिले हामीले तातोपानी नाकाका साथीहरूसँग नियमित सम्पर्क र छलफल गरिरहेका छौँ,’ उनले भने, ‘नाकापारि चिनियाँ अधिकारीसँग पनि मैले दैनिक रूपमा नै सम्पर्क गरिरहेको हुन्छु। उहाँहरूले त्यहाँको मौसमको जानकारी हामीलाई गराउनुहुन्छ। त्यसपछि हामी यताको तयारी गर्छौँ।’ नेपालको मौसम पूर्वानुमान महाशाखाले सीमापारिको मौसम हेर्न नमिल्ने भएकाले दैनिक चिनियाँ अधिकारीसँग समन्वय गरिरहेको उनले बताए।  

तस्बिर: निर्मल राउत

चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक९एसपी० रामेश्वर कार्कीले जिल्लाका प्रहरी इकाईहरूमा आवश्यक प्रतिकार्यका सामग्री राखिएको बताए।

प्रकाशित: २ श्रावण २०८२ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App