१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हेंवाखोला बाढीको तीन वर्ष : सास्ती कायमै

ताप्लेजुङको सिरिज्ङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनुपरेको थियो। 

बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी थियो। तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो। डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्र चल्ने भइसकेका थिए।  

जोडबलले सवारीसाधनमा स्थान पाएर उनी पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपा पुछारसम्म आइपुगे। हेंवा खोलामा सडक अवरुद्ध भएकाले करिब दुई किलोमिटर पैदलयात्रा गरी फिदिम नगरपालिका–४ थापाटारबाट सवारीसाधन हुँदै उनी फिदिम आइपुगे। गत वर्षको असोजमा उनकी श्रीमती बिरामी परेपछि उपचारका लागि अस्पताल जानुपरेको थियो। 

बिरामी श्रीमती लिएर फिदिम आउँदा हेंवा खोलामा अघिल्लो वर्षायामको जस्तै सास्ती आचार्यले खेप्नुपर्‍यो। यस वर्ष हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि वर्षायाममा यात्रा नगर्ने अठोटमा आवश्यक सामग्री जोहो गरेर बस्ने सोचमा आचार्य थिए। तर जेठ दोस्रो साता उनलाई करेन्ट लाग्यो। नियमित फलोअपमा अस्पताल धाउनुपर्ने बाध्यता उनको छ।  

‘यस वर्ष आफैं बिरामी भएकाले फलोअपका लागि अस्पताल जाँदै छु,’ आइतबार फिदिम आउँदै गरेका आचार्यले भने, ‘तर यस वर्ष पनि उस्तै सास्ती खेप्नुपर्‍यो।’ आचार्य हेंवा खोलामा लगातार तीन वर्षायाममा आइपरेको समस्याको प्रत्यक्ष साक्षी छन्। आचार्यले भने जस्तै मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा २०८० असार २ गते आएको बाढीले यहाँ रहेको पक्की सडक पुल बगाएको थियो। यहाँ एक सातापछि फड्के निर्माण गरी मानिस र मोटरसाइकलले खोला पार गर्ने प्रबन्ध मिलाइयो। यसको करिब दुई महिनापछि सोही स्थानमा बेलिब्रिज जडान सम्पन्न भयो।  

गत वर्ष असोज १२ गते बेमौसमी वर्षापछि आएको बाढीले १३ महिनाअघि जडित बेलिब्रिज बगायो। बेलिब्रिज बगाएपछि वर्षा क्रमशः रोकिँदै गयो। हेंवा खोलामा डाइभर्सन निर्माण गरी यातायातलाई सुचारु गरियो। निकै ढिलो गरी गत फागुनबाट यहाँ पुनः बेलिब्रिज जडान गर्न थालिएको थियो।  

सडक डिभिजन कार्यालय इलामले रु तीन करोड ४८ लाखको लागतमा निर्माण गरिरहेको बेलिब्रिज निर्माण सम्पन्न हुन लाग्दा गत जेठ ३१ गते भाँचियो। बेलिब्रिज भाँचिँदा निर्माणमा संलग्न रहेका बाराको सिमरा उपमहानगरपालिका घर भएका तीन जना कामदारको ज्यान गयो।  

यसपछि दुर्घटनाग्रस्त बेलिब्रिज खोल्ने काम सम्पन्न भयो। तर नयाँ निर्माणको टुङ्गो नलाग्दै गएराति आएको बाढीले यहाँ निर्माण गरिएका दुई डाइभर्सनलाई क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध छ। यात्रु र स्थानीयवासी सरकारी निकाय गम्भीर नभएकोमा चिन्तित छन्। ‘बेलिब्रिज निर्माण गर्ने निर्माण कम्पनी, तालुकदार निकाय र आसपासका स्थानीय तह यसमा जिम्मेवार हुनुपर्छ,’ उपचारका लागि फिदिम आउँदै गरेका यात्रु आचार्यले भने, ‘यो सास्तीको उपाय चाहिँ खोज्नुपर्छ। कडाइका साथ नियमन गरेको भए हुन्थ्यो। छोटो बाटो विकल्पका रूपमा खोज्न किन सकिएन होला?’  

आचार्यकै छिमेकी राजेशकिरण भट्टराई आफ्नी दुई महिने सुत्केरी श्रीमतीलाई रोगको सङ्क्रमण देखिएपछि उपचारका लागि दुई वर्षअघि यसै याममा ल्याउनुपरेको सम्झन्छन्। ‘त्यो बेला साह्रै सास्ती भोग्नुपरेको थियो,’ उनले भने, ‘यस वर्ष पनि उस्तै अवस्था रहेछ। यस वर्ष दुई वर्षको छोरालाई कानमा समस्या देखिएपछि उपचारका लागि ल्याउँदै छु।’ सवारीसाधन छोडेर भारी र बालबच्चासहित भीरको बाटो हिँड्नुपर्ने बाध्यता यात्रुको छ। ‘यस्तो हैरानी सधैं दोहोरिरहेको किन होला? भनेर हामीले बुझ्न सकेनौं,’ उनले भने। यात्रुका सामग्री स्थानीयवासी युवाहरूले केही शुल्क लिएर वारपार गराउँदै आएका छन्।  

अशक्त यात्रुले पनि भरियाकै सहारा लिनुपर्ने अवस्था छ। तर भनेको बेला भारी बोक्ने मानिस पाउन पनि कठिन छ। यस राजमार्गमा दैनिक हजारौं यात्रु यात्रा गर्छन्। तीन वर्षदेखि हेंवा खोलामा सडक सहज नहुँदा यात्रुले धेरै समस्या खेप्नुपरेको हेंवाखोलाकी व्यवसायी धनमता गुरुङको भनाइ छ। ‘पुल नहुँदा यात्रुले धेरै दुःख पाइरहेका छन्। सरकारले गम्भीर भएर काम नगरेको हो कि जस्तो लाग्छ हामीलाई,’ उनले भनिन्।  

सडक डिभिजन कार्यालय इलामका इञ्जिनीयर सीताराम गौतमका अनुसार भत्किएको स्थानमा पुनः बेलिब्रिज जडान सुरु गर्ने तयारी भइरहेको छ। भाँचिएर झर्दा बिग्रिएका बेलिब्रिजका पार्टपुर्जा भारतबाट मगाइएको थियो। तर एक सातादेखि ती पार्टपुर्जा भन्सारमा आएर थन्किएका छन्।  

‘भन्सारमा थन्किएका पार्टपुर्जा आउनासाथ जडानको काम सुरु गर्छौं,’ उनले भने, ‘यहाँको समस्याको सहज समाधान भनेकै बेलिब्रिज जडान गर्नु हो।’ समग्र निर्माणको ८० प्रतिशतभन्दा बढी काम भइसकेको ७० मिटर लामो बेलिब्रिज गत जेठ ३१ गते निर्माणकै क्रममा भाँचिएपछि यहाँ पुल निर्माण अझै अन्योलमा छ। बेलिब्रिज भाँचिएको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा समिति गठन गरी छानबिन गरेको थियो।  

सो समितिले प्राविधिक त्रुटिले बेलिब्रिज भाँचिएको र सोही स्थानमा बेलिब्रिज जडान गर्नु समस्या समाधानको उपयुक्त विकल्प हुने निष्कर्ष निकालेको थियो। तर भाँचिएको बेलिब्रिज खुस्काउने काम सकिएको दुई सातासम्म पनि नयाँ जडानको काम अघि बढ्न नसक्दा यात्रु समस्यामा छन्।  

यो पुलले ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ। निरन्तर वर्षा भइरहे डाइभर्सनबाट सवारीसाधन सञ्चालन गर्न सम्भव हुने छैन। यसको असर प्रभावित क्षेत्रका बिरामी, विद्यार्थी तथा उत्पादित कृषि उपजमाथि पर्नेछ। रवीन्द्र काफ्ले /रासस

प्रकाशित: ५ श्रावण २०८२ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App