सुदूरपश्चिमको पहाडी भू–भागमा रहेको अछाम जिल्ला अझै पनि आधारभूत पूर्वाधारको अभावसँग जुधिरहेको छ। भौगोलिक रूपमा विकट, सेवासुविधाको पहुँच कमजोर र वर्षौंदेखि अधुरा योजनाले थलिएको यो जिल्लामा विकासको प्रतीक्षा पीडामा बदलिएको छ। अछाममा अहिले विकासको प्रश्न केवल राजनीतिक मुद्दा होइन, जनजीवनसँग जोडिएको संवेदनशील बनेको छ।
यही संवेदनशील पीडाको प्रतिविम्ब बनेका छन् अछामस्थित रामारोशन गाउँपालिका– ५ तल्लो पातलका २४ वर्षीय तिलकबहादुर बटाला।
तल्लो पातल क्षेत्रमा सडक सुविधा नभएको भन्दै गत शुक्रबारदेखि उनी खाली खुट्टा पैदल हिँडेर गाउँपालिका केन्द्र पुगेपछि विकासका नाममा बारम्बार भोट माग्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिविरुद्ध उनी तीन दिनदेखि निरन्तर अनसन बस्दै आएका छन्।
आफ्नो क्षेत्रमा सडक निर्माणसहित विकासका माग पूरा नभएको भन्दै उनी तीन दिनदेखि आमरण अनसनमा बसेका हुन् । उनका अनुसार एक दशकदेखि सडक बनाइदिन्छु भन्ने एजेन्डामा उम्मेदवार भोट जित्दै आएका छन्, तर सडक भने कागजमै सीमित छ। ‘जब भोट चल्छ, तब सडक किन चल्दैन?’, उनले प्रश्न गरे।
चुनाव नजिकिँदै जाँदा फेरि घरदैलो अभियान सुरु भएको छ। उम्मेदवारहरू पुरानै वाचा दोहोर्याउँदै छन्। ‘हामी जितेपछि सडक ल्याउँछौं, विकास गर्छौं।’ तीन दिनदेखि अनसन बसेका उनी भन्छन्, ‘यस्ता वाचा धेरै सुनियो । यी वाचा चुनावसँगै हराउँछन्।’
उनका अनुसार अछाममा बर्खामा बाटो अवरुद्ध हुँदा बिरामी अस्पताल पुर्याउन समस्या छ। सुत्केरी महिलाले समयमै उपचार नपाएर ज्यान गुमाउनुपरेको समस्या धेरै छन्। स्वास्थ्य संस्था र शिक्षामा न्यून स्रोत छ। पर्यटन सम्भावना हुँदाहुँदै पूर्वाधारको अभाव त्यस्तै छन्। विकासको बजेट पारदर्शी रूपमा कार्यान्वयन नहुने उनले बताए।
अनसनस्थलमा तिलकले शरीरमा राष्ट्रिय झन्डा बेरेका छन् भने अगाडि नेपालको संविधान राखेर शान्तिपूर्ण दबाबमूलक आन्दोलन गरिरहेका छन्। जनताले वर्षौंदेखि भोग्दै आएका आधारभूत समस्या समाधान गराउनकै लागि संघर्ष भएको तिलक बताउँछन्।
अछामको रामारोशन गाउँपालिका– ५ का अर्का स्थानीय कमलबहादुर बटालाका अनुसार यहाँका स्थानीयवासीले लामो समयदेखि भौतिक पूर्वाधार र सेवा प्रवाहमा समस्या भोग्दै आइरहेका छन्। उपत्यका र अन्य दुईचार जिल्ला विकास भयो भनेर हुन्छ र? सुदूरपश्चिम पनि नेपालै हो भनेर विकास गर्नुपर्यो नि।
वर्षौंदेखि प्रतीक्षामा रहेको सडक र विकासको माग यसपटक सुन्ने कान पाइन्छ कि फेरि चुनावसँगै हराएर जान्छ भन्ने डर कमलको छ।
तिलकबहादुरले शुक्रबारदेखि बस्दै आएका अनसनका प्रमुख माग तल्लो पातलमा सडक खै? रामारोशन पर्यटन क्षेत्र कहाँ पर्छ? यसको व्यवस्थापन किन छैन? जयगण–रामारोशन पर्यटकीय सडक कालोपत्रेमा किन अलपत्र? यावत् माग राखी तिलक अनसन बस्दै आएका छन्।
स्थानीयका अनुसार जयगण–रामारोशन सडकको सर्भे भएको एक दशकभन्दा बढी भइसक्यो तर निर्माण कार्य अझै सुरु हुन सकेको छैन। चुनाव नजिकिँदा उम्मेदवारहरू घरदैलोमा पुगेर ‘एक हप्तामै सडक ल्याउँछु’ भन्दै आश्वासन दिने तर जितेपछि फर्केर नआउने परम्परा दोहोरिँदै आएको आरोप कमलको छ।
अहिले गाउँमा उम्मेदवार घरदैलोमा व्यस्त छन्। कतै मासु भात, कतै आश्वासन तर अर्कातर्फ तिलकबहादुर भने भोकै अनसनमा बसेर एउटै माग दोहोर्याइरहेका छन्, ‘माग्नु भिख होइन, अधिकार हो।’
एकातिर चुनावी नारा र अर्कातिर विकासविहीनता भएको देख्दा यतिबेला अछामका स्थानीय चिन्तामा छन्। ‘अछाममा विकासको सवाल अब केवल वाचा होइन, जीवन-मरणको विषय बनेको छ’, स्थानीय कमलबहादुरले भने, ‘सडक नहुँदा बिरामीको मृत्यु हुन्छ, सुत्केरीले ज्यान गुमाउँछिन्, विद्यार्थीले अवसर गुमाउँछन्।’
अछामका स्थानीय आशा गरिरहेका छन्। यसपटक कम्तीमा आवाज सुन्ने कान बन्द होऊन् र वर्षौंदेखिको प्रतीक्षामा रहेको सडक सञ्चालनमा आओस्।
प्रकाशित: १९ फाल्गुन २०८२ ०९:१३ मंगलबार





