१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

रसुवा बाढीबाट पुनर्जीवन पाएर फर्के बर्दियाका तीन मजदुर : घर परिवारमा छायो खुसी

रसुवामा गएको भीषण बाढीमा परेर तीन दिनसम्म सम्पर्कविहीन भएका बर्दियाका मजदुरहरू सकुशल घर फर्किएका छन्।

गुलरिया नगरपालिका –२ रामनगर टोलका सतिराम चौधरी, भागीराम चौधरी र रामु लोध रसुवाबाट सकुशल घर फर्किएका हुन्।

डाँडागाउँस्थित हाइड्रोपावरको सडक निर्माणका लागि स्ल्याब बनाउने काममा खटिएका बेला एक्कासि भीषण बाढी आएको थियो। बाढी आएको थाहा पाउने बित्तिकै भागेर ज्यान जोगाउन सफल भएका उनीहरू रात–दिन नभनी पैदल हिँडेर सुरक्षित स्थानतर्फ लागेका थिए।

निरन्तर तीन दिनसम्म सम्पर्कविहीन बनेका उनीहरू हिँड्दै बल्छी भन्ने ठाउँसम्म पुगेपछि सरकारी टोलीले उनीहरूको उद्धार गरी घर फर्काएको हो।

सोमबार साँझ घर आइपुगेका उनीहरू निकै थकित अवस्थामा देखिन्थे। बाढीको भयावह दृश्य सम्झिँदै उनीहरूले आफ्नै आँखा अगाडि सयौँ मानिसहरू बाढीमा बगेको बताए।

साथै, आफ्ना सहकर्मी तथा साथीभाइहरू अझै सम्पर्कविहीन रहेको खबरले आफूहरूलाई निकै चिन्तित बनाएको उनीहरूको भनाइ छ।

उनीहरू सकुशल घर फर्किएपछि परिवारमा खुसीको माहोल छाएको छ।

यसैबिच, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरे घरमा पुगेर सतिराम चौधरी र भागीराम चौधरीलाई खादा ओढाएर सम्मान व्यक्त गर्दै पुनर्जीवन पाएकोमा खुसी साट्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १६ भाद्र २०८३ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App