१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन मजदुरको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

बुधबार बिहान करिब ९ बजे स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा उनीहरू त्यहाँ फसेका थिए।

ट्याङ्कीभित्र विषालु ग्यासका कारण निसास्सिएको आशंका गरिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार प्रयास गरिए पनि ट्याङ्कीभित्र पुग्न कठिन भएपछि जेसीबीको सहायताले ट्यांकी फुटाएर तीन जनालाई बाहिर निकालिएको थियो। बाहिर निकाल्दा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

तीनै जनाको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने भएपनि यस्तो दुर्घटनाले निर्माण स्थलमा सुरक्षा मापदण्ड पालना गर्ने विषय पुनः चर्चामा आएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App