५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार सिलिन्डर नष्ट गरियो

बजारमा म्याद गुज्रिएका ग्यास सिलिन्डर बिक्री भइरहेको गुनासो आइरहेको अवस्थामा सगर ग्याले तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।  

काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले हाइड्रोलिक टेष्ट फेल भएका खाना पकाउने ग्यास सिलिन्डर आइतबार नष्ट गरेको हो । सगरमाथाले सगर ब्राण्डमा ग्यास रिफिलिङ गरेर बजारमा पठाउने गरेको छ ।

नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकारकर्मीको रोबहरमा प्रयोगमा ल्याउन नमिल्ने सिलिन्डर नष्ट गरेको सगरमाथा ग्यास उद्योग प्रालिका सञ्चालक सावरमल अग्रवालले बताए ।  

‘ग्यास रिफिलिङ गर्नुपूर्व हाइड्रोलिक टेष्ट गर्छौं,’ अग्रवालले भने, ‘प्राविधिक परिक्षणमा प्रयोगमा ल्याउन नमिल्ने मापदण्ड विपरीतका सिलिन्डर नष्ट गर्छौं ।’  

हरेक वर्ष हाइड्रोलिक परीक्षण  वार्षिक कार्यक्रम अनुसार एक वर्षमा संकलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेको कम्पनीले जनाएको छ ।  सगर ग्यासले हाइड्रोलिक परीक्षण फेल भएका, म्याद गुज्रिएका र कुच्चिएका सिलिन्डर अत्याधुनिक मेसिनको सहायतामा डिस्पोजल गरेको छ ।  

२७ रोपनी क्षेत्रलफलमा फैलिएको सगर ग्यासको प्लन्टमा दुई सय टन क्षमताको ग्यास भण्डारण बुलेट रहेका छन् ।

उद्योगले दैनिक सात हजार पाँच सय सिलिन्डर भरेर बिक्री हुँदै आएको छ ।  सगर ग्यासका साढे चार लाख सिलिन्डर बजारमा रहेका छन् । मापदण्ड विपरीतका ग्यासका सिलिन्डर बजारमा बिक्री भएर दुर्घटना भइरहेको अवस्थामा सगर ग्यासले सकरात्मक काम गरेको छ । सगर ग्यास काठमाडौं, भक्तपुर, ललिपतुर, काभ्रे, सिन्धुली लगायतका जिल्लामा बिक्री हुँदै आएको छ ।

ग्यास सिलिन्डर विस्फोट हुनुमा सिलिन्डरको कारण मात्र नभएर रेगुलेटर र पाइपबाट पनि हुने भएकाले सावधानीपूर्वक प्रयोग गर्नुपर्ने अग्रवालले बताए । ‘रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपछ,’ उनले भने, ‘प्रज्वनशील र संवेदनशिल वस्तु भएकाले सचेत हुनुपर्छ ।’  

एनएच प्लान्ट ५३३ भन्ने गुणस्तर मापदण्ड अनुसार सगर ग्यास सिलिन्डर नष्ट गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक इन्जय कुमार मानन्धरले बताए ।

‘अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मितिबाट २० वर्षसम्म प्रयोग गर्न योग्य हुन्छ । पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गर्नुपर्छ । त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार सगरका तीन हजार ३० सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

प्रकाशित: ८ भाद्र २०८२ १९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App