१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

खोलामा फोहोर फ्याल्ने तीनवटा ट्यांकर महानगरको नियन्त्रणमा

विराटनगर महानगरपालिकाले केशलिया खोला तथा आसपासका क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्यांकर नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो विराटनगर–६ स्थित केशलिया खोलामा  फोहोर फालिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो ।  

महानगरका प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ । महानगरका अनुसार खोलामा मिसाइने शौचालयजन्य फोहोरले हैजा, झाडापखाला लगायतका जलजन्य रोग फैलिने उच्च जोखिम सिर्जना गर्दछ । केशलिया खोलाको पानी स्थानीय कृषकले पशुपालन र सिंचाइमा समेत प्रयोग गर्ने भएकाले यसको असर गाई, भैंसी जस्ता पशुमा समेत पर्न सक्ने खतरा देखिएको छ ।

यसअघि महानगरले सेफ्टीट्यांकी व्यवसायीहरुलाई बारम्बार सचेत गराउँदै खुला स्थानमा फोहोर नफाल्न निर्देशन दिएको थियो । विशेष गरी विराटनगर–१४ जतुवास्थित फोहोर पानी प्रशोधन केन्द्रमै मात्रै शौचालयजन्य फोहोर विसर्जन गर्ने सेफ्टीट्याङ्कर व्यवसायीहरूसँग सहमति भएको थियो । तर, केही व्यवसायीले उक्त निर्देशन अवज्ञा गर्दै अवैध रूपमा फोहोर फाल्ने कार्य जारी राखेपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो । महानगरले नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने र दोषीलाई जरिवाना तथा अन्य कारबाही गरिने जनाएको छ । 

प्रकाशित: १० चैत्र २०८२ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App