नेपालको बाटो हुँदै तीन पाकिस्तानी मलेसिया पुगेको पाइएको छ। अध्यागमन विभागले दिएको जानकारीअनुसार चार दिनअघि नै उनीहरू फरक–फरक समयमा मलेसिया पुगेका हुन्। यही अगस्ट ८ मा नेपाल आएर हसनैन अली र आदिल हुसैन १५ तारिखमा तथा अगस्ट १० मा नेपाल आएका मोहम्मद उस्मान २४ तारिखमा मलेसिया गइसकेका छन्।
भारतको बिहारमा चुनाव मिति घोषणा नभए पनि त्यहाँको निर्वाचन आयोगले अक्टोबर–नोभेम्बरका लागि मिति तोक्न सक्ने सम्भावना छ। नेपाल आएका ती पाकिस्तानी भारत पसेको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि नेपालको अध्यागमन विभागले उनीहरू भारत नभई मलेसियातर्फ उडेको स्पष्ट पारेको हो।'उनीहरू पाकिस्तानबाट दुबई हुँदै नेपाल आएको देखिन्छ। नेपालमा उनीहरू केही दिन बसेर मलेसिया गएको देखिन्छ। त्यसकारण बाहिर आएको हल्लामा अध्यागमन विभागको विश्वास छैन,’ विभागका प्रवक्ता टीकाराम ढकालले भने।
भारतले नेपालको बाटो हुँदै जैस–ए–मोहम्मद समूहका तीन पाकिस्तानी'आतंकवादी’ विहारमा प्रवेश गरेको भन्दै सीमा सुरक्षा व्यवस्था कडा पारेको समाचार भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन्। 'उनीहरू उता (विहारतिर) गएका होलान् भन्ने हामीलाई लागेको छैन। सीमा क्षेत्रको सुरक्षामा सधैं नै सजगता अपनाइन्छ। उनीहरूलाई कारण बनाएर सीमा कडाइ गरिएको हो भन्ने अध्यागमन विभागलाई लागेको छैन,’ प्रवक्ता ढकालले भने। उनीहरूको पासपोर्ट कालोसूचीमा नभएको र इन्टरपोलले पनि कुनै जानकारी नगराएका कारण आउनेजाने भएको ढकालको भनाइ छ। 'उनीहरूको पासपोर्ट कालोसूचीमा थिएन, इन्टरपोलले पनि केही भनेको थिएन,’ ढकालले भने।
‘आतंककारी’ घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा राखेको र गुप्तचर निकाय पनि परिचालन गरेको समाचार भारतीय मिडियाहरूले प्रकाशन–प्रसारण गरेपछि अध्यागमन विभागले यस्तो जानकारी दिएको हो।
उनीहरू पाकिस्तानबाट दुबई हुँदै नेपाल आएको देखिन्छ। नेपालमा उनीहरू केही दिन बसेर मलेसिया गएको देखिन्छ : टीकाराम ढकाल, प्रवक्ता, अध्यागमन विभाग
नेपाल प्रहरीले उनीहरू नेपाल आएको मितिलाई आधार मानेर कहाँ बसेको र के गतिविधि गरेको भनी अनुसन्धान थालेको छ। नेपाल प्रहरीको विशेष ब्युरोले अनुसन्धान सुरु गरेको हो।'हामीले उनीहरूका गतिविधिबारे केही जानकारी पाइन्छ कि भनेर हेरिरहेका छौं,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।
लामो समयदेखि भारत आतंककारी हमलाको चपेटामा परेको छ। भारतमाथि आतंककारी हमला हुँदा त्यसविरुद्ध लड्न नेपालले साथ दिँदै आएको छ। पछिल्लो समय पहलगाममा आतंककारी हमलापछि पनि नेपालले भारतलाई साथ दिएको थियो। गत वैशाखमा पहलगाममा आक्रमण हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी आतंकवादविरुद्धको लडाइँमा नेपालको साथ रहने प्रतिबद्धता जनाएका थिए।
एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको चौतर्फी आलोचना भएको थियो। उक्त आक्रमणपछि भारत–पाकिस्तानबिच द्वन्द्व चर्किएको थियो। पाकिस्तानप्रति भारत आक्रामक भएको छ। यी दुई देशबिच युद्ध हुँदा दक्षिण एसियाका देशहरू प्रभावित भएका थिए। पहलगाममा भएको आक्रमणपछि नेपाल–भारत सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो। पहलगाम आक्रमणमा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको थियो। नेपालीको ज्यान गएकाले पहलगाम आक्रमणपछि नेपालको सुरक्षा व्यवस्था पनि विशेष चासोको विषय बनेको छ। उक्त आक्रमणप्रति नेपालले घोर आपत्ति जनाएको थियो।
खुला सीमा भएका कारण सुरक्षालाई लिएर दुवै देशले बेलाबेलामा चिन्ता व्यक्त गरिरहेका हुन्छन्। खासगरी भारतले नेपालसँगको सीमामा सुरक्षा कडा बनाउनुपर्ने धारणा राख्दै आएको छ। नेपाल हुँदै भारतमा आतंककारीहरू छिर्ने गरेको दाबी भारत पक्षले पहिल्यैदेखि गर्दै आइरहेको छ। नेपालले पनि सीमाबाट आपराधिक गतिविधि हुँदै गरेको र त्यसलाई नियन्त्रणमा ल्याउनुपर्ने भन्दै आएको छ। त्यसका लागि बेलाबेलामा दुई देशबिच रहेको सुरक्षा संयन्त्रको बैठक बसेर त्यसमा छलफल गरिरहेका हुन्छन्।
भारत–पाकिस्तानबिच तनाव बढे दक्षिण एसियाका देशहरूमा सिधा असर पर्ने देखिन्छ। खासगरी नेपाल–भारतबिचको खुला सीमाले बढी प्रभाव पार्ने देखिन्छ। यसकै परिणाम जैस ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको आशंका भारतीय सञ्चारमाध्यमले गरेको देखिन्छ। भारतीय सञ्चारमाध्यम 'इन्डिया टुडे’ले उनीहरू तीनै जना पाकिस्तानी नागरिक भएको र उनीहरू भारतमा घुसेको सूचनाले सुरक्षा निकायमा हलचल पैदा भएको जनाएको थियो। तर उनीहरू नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने समाचारमा उल्लेख छैन। भारतको न्युज–एट्टिनको अनलाइन संस्करणमा लेखिएअनुसार उनीहरूको हुलिया र परिचयसहितको विवरण प्रहरीका सबै युनिटमा पठाइएको छ र सतर्क रहन भनिएको छ। यसैगरी इटिभी भारतले विहारका खासगरी सीतामढी, मधुवनी, पश्चिम चम्पारण, अररिया, किसनगन्ज र सुपौलका प्रहरीहरूलाई अलर्टमा राखिएको जनाएको छ र संदिग्ध गतिविधिलाई निगरानी गर्न भनिएको छ।
यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंककारी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए। २०७२ सालमा इस्लामिक स्टेट (आइएस) बाट पनि भारतमा आक्रमण भएको थियो। त्यतिबेला पन्जाबसँग सीमा जोडिएको पठानकोटमा हमला भएको थियो। गत वैशाखमा आतंकवादी आक्रमणको बदलामा भारतले पाकिस्तानमा 'अपरेसन सिन्दूर’ नामको सैन्य कारबाही सुरु गरेसँगै नेपालमा समेत सुरक्षा सतर्कता बढाइएको थियो। त्यो सतर्कता अहिले पनि कायम रहेको सुरक्षा स्रोतले जनाएको छ। त्यतिबेला भारतले नेपाल र पाकिस्तानसँग सीमा जोडिएको उत्तर प्रदेशसहित पन्जाब र राजस्थानमा 'रेड अलर्ट’ जारी गरेको थियो। भारतले संवेदनशील क्षेत्र घोषणा गरेका क्षेत्रमा आपत्कालीन अभ्यास र ब्ल्याकआउटको अभ्यास गरेको थियो।
प्रकाशित: १३ भाद्र २०८२ ०८:०२ शुक्रबार




