२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध

फाइल तस्बिर

केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर भने अझै अवरुद्ध रहेको छ।

महानिरीक्षक काफ्लेका अनुसार यही असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सालझण्डी–ढोरपाटन सडक, असार १७ गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्ड  सञ्चालनमा ल्याइएको हो।

यसैगरी असार १७ गतेको अविरल वर्षासँगै अवरुद्ध भएको रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगाढ खोलास्थित जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर भने हाल सम्म पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित: १९ असार २०८३ १८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App