१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

यी चार भवन उच्च जोखिममा

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएका तथा तोडफोड गरिएका भवनहरूमध्ये चार वटा उच्च जोखिममा रहेकाले मान्छे छिर्न पनि नहुने निष्कर्ष निकालिएको छ। इन्जिनियरहरूले अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन्।

नेपाल इन्जिनियर्स एसोसियनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार सिंहदरबारको मूल भवन, सर्वोच्च अदालत रहेको उत्तरपट्टिको भाग, स्वास्थ्य मन्त्रालयको भवन र काठमाडौं जिल्ला अदालत भवन उच्च जोखिममा रहेकाले पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। ती भवनहरूमा सरसफाइका लागि मान्छे छिर्नसमेत नहुने अध्ययनबाट पाइएको इन्जिनियर्स एसोसिएसन, सहरी विकास तथा भवन निर्माण विभाग, स्ट्रक्चर्स इन्जिनियर्स (सिनेट) को संयुक्त टोलीको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ।

‘नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण क्षेत्र हो। आगलागीबाट पूर्ण ध्वस्त भएका चार भवनभित्र सरसफाइ गर्न मान्छे छिर्न पनि जोखिमपूर्ण हुनेछ। त्यसैले ती भवनहरूमा नजिक तथा भित्र जान उच्च जोखिम छ। सानो भुइँचालो आए पनि पुरै भत्कने अवस्था छ,’ बरालले भने, ‘ती चार वटा भवनको वरिपरि जान सकिन्छ तर भित्र जान निकै होसियारी अपनाउनुपर्ने हुन्छ।’ उनका अनुसार ती चार भवन सानो भुइँचालो आए पनि पुरै भत्कने अवस्थामा छन्।

जेन-जी आन्दोलनका क्रममा संघीय सरकारको मातहतमा रहेका दुई सय ३० वटा भवनमा क्षति भएको छ। प्रदेश सरकार र स्थानीय सरकरको मातहतमा रहेका भवनहरूको संख्यासमेत जोड्ने हो भने पाँच सयभन्दा बढी भवनमा क्षति भएको बरालले जनाए।

उनका अनुसार जेनजी आन्दोलनपछि इन्जिनियर तथा भवन विभागको संयुक्त टोलीले आन्दोलनका क्रममा जलाइएका भवनहरूमध्ये हाललाई पूर्ण रूपमा प्रयोग गर्न मिल्ने, आंशिक रूपमा प्रयोग गर्न मिल्ने तथा पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने भनी तीन वटा शीर्षकमा अध्ययन गरिएको थियो। प्रारम्भिक अध्ययनमा ती चार वटा भवन पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको हो।

‘यो प्रारम्भिक प्रतिवेदन हो। विस्तृत प्रतिवेदन तयार गर्दै छौं,’ बरालले भने। बरालका अनुसार सिंहबारको मूल भवन २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरी तयार गरिएको हो। बरालका अनुसार इन्जिनियरहरूको प्रतिवेदनले बबरमहलस्थित सडक विभागको अगाडिपट्टिको भवन पनि हाल पूर्ण रूपमा प्रयोग गर्न मिल्दैन।

उक्त भवन पनि २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको थियो। इन्जिनियरहरूको टोलीले चार वटा भवनबाहेक अन्य भवनहरूमा आंशिक रूपमा प्रयोग गर्न मिल्ने निष्कर्ष निकालेका छन्।

जेनजी आन्दोलनले सहरी विकास तथा भवन निर्माण विभागकै मूल भवनमा ठुलो क्षति पुर्‍याएको छ। विभागका कर्मचारीहरूले क्षति नभएका कोठाबाट काम चलाइरहेका छन्। जेनजी आन्दोलनका क्रममा देशभरि नै सरकारी भवन जलाइएका छन्। यी भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा एक खर्ब रुपैयाँ खर्च हुने विभागका उच्च कर्मचारीहरूले प्रारम्भिक अनुमान गरेका छन्।

प्रकाशित: ५ आश्विन २०८२ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App