२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस् : महानिरीक्षक अर्याल

फाइल तस्बिर

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए। कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरे।

उनले कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा रहँदा बदमासी गरेमा तत्कालै कारबाही गरिने उल्लेख गरे। निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनले निर्देशन दिए।

महानिरीक्षक अर्यालले सङ्गठनले लिएको सोच र नीतिअनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालिन हुनुपर्नेमा जोड दिए। राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरुले आर्थिक पारदर्शीता कायम गरी भ्रष्टाचारमा शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अप्रेशनल कामकारबाही सञ्चालन गर्न निर्देशन दिए।

प्रकाशित: १३ माघ २०८२ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App