५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

भारी वर्षाको जोखिम छ, अत्यावश्यक बाहेक लामो यात्रा नगर्नु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागको भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले अत्यावश्यक अवस्थाबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेका छन्। साथै, उनले सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्। 

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।

विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित: ४ श्रावण २०८२ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App