सडक सञ्जाल नपुगेको कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्न सेरावाडा–पादमघाट सडकका लागि ठेक्का प्रक्रिया सुरु भएको छ।
गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैंकको संयुक्त लगानीमा ५१ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रका लागि १ महिना अवधि राखेर गत डिसेम्बर २२ मा ठेक्का आव्हान भएको हो। यो सडकका लागि मन्त्रालयको १० करोडसहित बाँकी रकम लगानी विश्व बैंकको हो।
कर्णाली राजमार्गको सेरावाडादेखि महावै गाउँपालिकाको केन्द्र पादमघाटसम्मको ६ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।
‘अब गाउँपालिका पुग्ने सडक निर्माण हुने पक्का भयो। पालिका केन्द्र पुग्न पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने छ,’ उनले भने, ‘तिला नदीको सेरावाडामा बेलिब्रिज बनाइसकेका छौं। पादमघाट खोलामा पनि सडक विभागले पक्की पुलको काम गरिरहेको छ।’ उनले विश्व बैकको सहयोगमा पालिका केन्द्रसम्म कालोपत्र सडक बन्ने बताए।
कालीकोटका ९ मध्ये ८ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगे पनि महावै गाउँपालिकाको केन्द्र पुग्न कर्णाली राजमार्गको सेरावाडाबाट ३ घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ।
महावै जान तिला नदी तर्नुपर्ने हुन्छ। तिला नदीमा गत वर्ष पुरानो बेलिब्रिज जडान गरिएको थियो। अहिले पादमघाट खोलाको पक्की पुल निर्माणका लागि सडक विभागले ठेक्का लगाएर काम भइरहेको छ। महाबैको केन्द्र पुग्ने सडक नबनेकोले स्थानीय पैदल हिँड्न बाध्य छन्।
कर्णाली प्रदेश सरकारको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्र्तगत गाउँपालिकालाई ५१ करोड बढीको ठेक्का लगाउन स्वीकृति प्राप्त भएपछि ठेक्का पक्रिया सुरु भएको हो। गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले कर्णाली राजमार्गको सेरावाडामा तिलानदी तरे पछि कडा चट्टान हुँदै सडक खन्नुपर्ने भएकाले विष्फोटनसहितको काम गर्ने गरी ठेक्का लागेको बताए।
प्रकाशित: १२ पुस २०८२ ०९:५० शनिबार





