३ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा। पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर। अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको बडिगाडमा भेटिए। डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँ खर्च जोहो गर्न ११ दिनअघि डोल्पाबाट ३ सय च्याङ्ग्रा लिएर आएका थिए।

दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १०० सस्तो मूल्यमा दिने ‘मुड’ मा रोकाया थिए। मङ्गलबारसम्म सबै च्याङ्ग्रा बेचेर घर फर्किने योजनामा उनी थिए तर बिक्री नहुँदा उनी निराश देखिए। रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन। १५ वर्षदेखि उनी यही पेसामा छन् तर बागलुङमा भने उनको पहिलो यात्रा हो।

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकाया पहिले दाङतिर जाने गरेको बताए। यसपालि पोहोरभन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाले बताए।

बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनी बताउँछन्। बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भइसकेको रोकायाले सुनाए।

“दसैँको बेला सहरबजारमा बस्ने मान्छेहरूले च्याङ्ग्राको मासु धेरै रुचाउँछन्, यो बेला च्याङ्ग्रा लिएर उनीहरूलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पढाउनुपर्‍यो, अरू के गर्ने?”, उनले भने, “डोल्पाबाट यहाँ आउन सजिलो छैन तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र?”

उनका साथमा तिलमबहादुर खत्री पनि थिए। दुई जनाले साझेदारीमा डेढ/डेढ सय च्याङ्ग्रा लिएर आएका हुन्। दसैँको समयमा च्याङ्ग्रा बेचेको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए।

डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नुपरेको उनले बताए। अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रा सहज भएकाले पहिलो पटक यहाँ आएको उनले बताए।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि ४५ हजार रहेको खत्रीले बताए। आफूहरूले बथानमा रहेका रोज्जा च्याङ्ग्रालाई ४० हजार रूपैयाँमा दिने गरेको उनी बताउँछन्। यो मूल्य अघिल्लो वर्षकोभन्दा चार हजारले कम भएको खत्रीले बताए।

उनी भन्छन्, “च्याङ्ग्रा पाल्न गाह्रो छ, बिक्री गर्न पनि उस्तै गाह्रो, बागलुङसम्म ल्याउँदा हाम्रो नै कति खर्च भएको हुन्छ, पोहोरको दसैँमा ४५/५० हजार रूपैयाँ भन्थे अहिले ३०/४० हजारमा पाउनुहुन्छ, गाउँमाभन्दा सहरबजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीले उच्च ठाउँमै पुगेर ल्याउने गरेका छाैं, ग्राहक जति खुसी हुनुहुन्छ, हामीलाई त्यति नै सन्तुष्टि मिल्छ, नबिकेका च्याङ्ग्रा फर्काउने कुरा भएन, सस्तोमै दिएर फर्किनुपर्ने भयो।”

दसैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा किनेर ल्याउँछन्। गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौँ, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउँछन्। मुस्ताङसहित डोल्पा, मुगु, हुम्ला लगायत ठाउँबाट दसैँका बेला बागलुङमा भेडाच्याङ्ग्रा लिएर सयौँ व्यापारी आउँछन्। बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन्।

प्रकाशित: १४ आश्विन २०८२ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App