काठमाडौंको माइतीघर मण्डलामा शिल्पी थिएटरले ‘कोठा खालि छ’ शीर्षकको सडक नाटक प्रदर्शन गरेको छ।
शुक्रबार मध्यान्ह मञ्चन गरिएको उक्त नाटकमार्फत सहरमा विद्यमान जातीय विभेद र दलित समुदायले भोग्नुपरेको यथार्थलाई देखाइएको छ।
सहरभरि घरैघर भए पनि दलित समुदायले जात र थर सोधेपछि मात्र कोठा पाउने वा नपाउने निश्चित हुने प्रवृत्तिको नाटकले व्याख्या गरेको छ।
सहरका भित्तामा ‘कोठा खालि छ’ भन्ने विज्ञापन हुने र कोठा खोजिदिने कार्यालयहरू प्रशस्तै भए पनि दलित देखेपछि ढोका थुन्ने अमानवीय प्रवृत्तिमाथि नाटकले तीखो व्यङ्ग्य प्रहार गरेको छ।
नाटकमा कोठा खोज्दै हिँडेका पात्रहरूलाई घरबेटी र कन्सल्टेन्सीहरूले जात सोधेर निषेध गर्छन्। अन्ततः कतै पनि कोठा नपाएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य हुन्छन्। उज्ज्वल भविष्यको खोजीमा सहर छिरेका दलित युवाहरू जातीय विभेदका कारण कसरी सहरबाटै लखेटिन्छन् र उनीहरूको सपना कसरी अन्योलमा पर्छ भन्ने मर्मस्पर्शी दृश्य नाटकमा प्रस्तुत गरिएको छ।
शिल्पी थिएटरले जातीय विभेदविरुद्ध विगत ४१ दिनदेखि माइतीघरमा ‘सरकार कोठा खालि छ’ अभियानसहित धर्ना दिइरहेकी दीपा नेपालीको समूहलाई ऐक्यबद्धता जनाउन यो नाटक मञ्चन गरेको हो।
दीपाको नियमित प्रदर्शन सुरु हुनुअघि नै कलाकारहरूले मण्डलाको सडकमै आफ्नो प्रस्तुति दिएका थिए।
थिएटरका युवराज घिमिरेले भने, ‘राजधानीमा थुप्रै दलित समुदायले जातकै कारण कोठा नपाउने जुन समस्या छ, त्यो अत्यन्तै अमानवीय छ। यो विभेदको अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो।’
प्रकाशित: १५ जेष्ठ २०८३ २१:१३ शुक्रबार



-600x400.jpg)

