भनिन्छ, मानव जीवन सबैभन्दा मूल्यवान् छ । यही मूल्यवान् जिन्दगी सानो गल्तीका कारण गुम्ने गरेको छ । कतिपय अवस्थामा आफ्नै गल्ती त कतिपय अवस्थामा अरुकै गल्तीले मूल्यवान् जिन्दगीको चोला सकिने गरेको छ । बागलुङ पछिल्ला केही वर्षहरूमा अकालमै ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको छ । सडक दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनेको संख्या बढेको छ । ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू हुँदै आए पनि दुर्घटनाको दर भने घटेको देखिन्न । बरु पछिले केही वर्षमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७९/८० जिल्लामा भएको ३२ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनामा मृत्यु हुनेको संख्या बढेर १९ वटा सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ । यही संख्या आर्थिक वर्ष २०८१/८२ मा २८ वटा सवारी दुर्घटना हुँदा २३ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक गंगाराम विक बताउँछन् । गएको आर्थिक वर्षमा दुर्घटनाबाट २८ जना गम्भीर घाइते र ४२ जना साधारण घाइते भएका ट्राफिक प्रहरीसँग तथ्याङ्क छ ।
‘पछिल्ला तीन वर्षमा दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या हेर्दा यो संख्या बढ्दै गएको देखिन्छ,’ट्राफिक प्रमुख विक भन्छन्,‘ट्राफिक नियम नमान्नु, मादक पदार्थ सेवन र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढेको देखिन्छ ।’ दुर्घटना हुनुको पछाडि विभिन्न कारणहरू रहेको उनले बताए । ‘सवारी चालकको लापरवाह नै दुर्घटनाको पहिलो कारण हो, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गर्दा पनि दुर्घटना भएको छ,’ उनले भने,‘सडकको दुरावस्थाका कारण पनि दुर्घटना भइरहेका छन् । अप्ठ्यारो र कच्ची सडकले गर्दा पनि मानिसहरूले ज्यान गुमाउनु परेको देखिन्छ ।’
ग्रामीण सडकको मर्मत नहुनु र सवारीको क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गर्नुले दुर्घटना बढाएको उनको भनाई छ। कतिपय अवस्थामा यात्रुकै असावधानीले पनि दुर्घटना निम्तिने गरेको उनी बताउँछन् । ‘यात्रुले पनि आफ्नो ज्यानको जोखिम हुने गरी यात्रा नगर्नुपर्ने, यात्रुको पनि समस्या देखिन्छ,’उनी भन्छन्,‘आफुले भनेकै ठाउँमा ओर्लन खोज्दा पनि समस्या हुने गरेको छ । जथाभाबी रोकेर यात्रु ओर्लँदा पनि दुर्घटना भएका छन् ।’ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी चालक, यात्रु, विद्यार्थी र सरोकारवालाहरूलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको गर्दै आएको उनले बताए ।
दुर्घटना न्यूनीकरणका लागि आफूहरूले सक्दो सवारी जाँच र कारबाहीको प्रक्रिया कडाइका साथ अघि बढाएको प्रमुख विकले बताए । कार्यालय दुर्घटना न्यूनीकरण गर्नका ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका असई निरज चौधरीले बताए । उनले गत आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ८ सय ५३ वटा सवारी साधनलाई कारबाही गरी एक करोड ३१ लाख ६० हजार रुपियाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए ।
सबैभन्दा बढी ६ हजार तीन सय १३ वटा जिप र कारलाई कारबाही गरी ५२ लाख २५ हजार रुपैयाँ, ६ हजार ६१ वटा मोटरसाइकललाई कारबाही गरी ५० लाख ६८ हजार रुपैयाँ र एक हजार पाँच सय ९४ वटा ट्रक र ट्रिपरलाई कारबाही गरी १३ लाख ९३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । नौ सय ६७ वटा ट्याक्टरलाई कारबाही गरी सात लाख १४ हजार पाँच सय रुपियाँ, सात सय १३ वटा बसलाई कारबाही गरी पाँच लाख ९४ हजार पाँच सय रुपैयाँ र दुई सय पाँच वटा अन्य सवारीलाई कारबाही गरी एक लाख ६४ हजार पाँच सय रुपियाँ राजश्व संकलन गरिएको प्रमुख विकले जानकारी दिए ।
आर्थिक वर्ष ०७९/०८० मा १५ हजार ६ सय ५० सवारी साधनलाई कारबाही गरी १ करोड १८ लाख १० हजार रुपियाँ राजश्व उठाइएको थियो । ०८०/०८१ मा १६ हजार तीन सय ७८ सवारी साधनलाई कारबाही गरी १ करोड २१ लाख ७१ हजार पाँच सय रुपैयाँ राजश्व असुली गरिएको उनले जानकारी दिए । ‘सवारी साधनलाई कारबाही गर्ने र नगर्नका लागि सचेत गराउने काम भइरहेको छ, हुँदा हुँदै पनि लापरबाही गर्नेलाई कानुनी दायरामा ल्याउने काम हुन्छ,’उनले भने ।
प्रकाशित: २१ श्रावण २०८२ १२:०३ बुधबार





