नेपाली सेनाले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै एकीकृत सुरक्षा योजना अनुसार अन्य सम्बद्ध सुरक्षा निकायहरूसँगको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा व्यवस्था मिलाइने प्रष्ट पारेको हो।
सेनाका अनुसार निर्वाचन सुरक्षाका सम्पूर्ण कार्यहरू ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन-२०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना-२०८२’ को अधीनमा रही सञ्चालन भइरहेका छन्।
विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि मतदान सम्पन्न भएपश्चात् मतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा ढुवानी गर्ने कार्य एकीकृत टोलीले गर्नेछ।
उक्त संयुक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत, राजनीतिक दलका तोकिएका प्रतिनिधिहरूका साथै नेपाली सेनाको समेत सहभागिता रहने विज्ञप्तिमा उल्लेख छ।
नेपाली सेनाले वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि नै मतपत्र छपाइ स्थलको सुरक्षादेखि मतपेटिका ढुवानीसम्मको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्ने, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने र निर्वाचन समापन भएपश्चात् संयुक्त टोलीमार्फत मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी सेनाले निर्वाह गर्दै आएको छ र यसलाई निरन्तरता दिइनेछ।’

प्रकाशित: १७ फाल्गुन २०८२ १५:४३ आइतबार





