चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिनेमध्ये ६८ प्रतिशत फेल भएको पाइएको छ।
यातायात व्यवस्था कार्यालय चितवनका अनुसार, लाइसेन्स परीक्षा सुरु भएपछि एक लाख १२ हजार २ सय ७ जनाले निवेदन दिएकोमा ३० हजार ६७८ जना उत्तीर्ण भएका छन्। चितवनबाट २०८० वैशाख ३ गतेबाट लाइसेन्स दिन थालिएको थियो। त्यसयता यहाँको उत्तीर्ण दर ३२ प्रतिशत रहेको यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत तेजेन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार अधिकांश मानिसहरू तयारी नगरी परीक्षा दिन आउँदा उत्तीर्ण दर कम रहेको हो। यातायात व्यवस्था कार्यालयले महालक्ष्मी ट्रायल सेन्टरबाट ट्रायल परीक्षा लिँदै आएको छ। यहाँ परीक्षा दिएकामध्ये १८ हजार ३२७ जनाले मोटरसाइकलको लाइसेन्स लिएका छन्।
यो लाइसेन्सका लागि ५५ हजार ५२४ जनाले परीक्षा दिएका थिए। छ हजार ८३६ जनाले कार र जिपको लाइसेन्स लिएको अधिकारीले जानकारी दिए। उनका अनुसार कार र जिपका लागि २६ हजार ५ जनाले निवेदन दिएका थिए। यस्तै स्कुटर/मोपेडको लाइसेन्स १० हजार ८३६ जनाले लिएका छन्।
यसका लागि ३० हजार ९० जनाले निवेदन दिएको यातायात व्यवस्था कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। यस्तै यो अवधिमा यहाँबाट ३५ हजार ६५४ जनाले लाइसेन्सको नवीकरण गरेका छन्। पछिल्ला महिनामा लाइसेन्स दिने मानिसको संख्या घट्दै गएको अधिकारीले बताए।
‘सुरुको चरणमा जस्तो लाइसेन्स दिने मानिसको संख्या छैन,’ अधिकारीले भने, ‘यसको कारण पत्ता लगाउन सकिएको छैन, यो अनुसन्धानको क्रममा नै छ।’ यहाँबाट चितवन, नवलपरासी पूर्व, तनहुँ, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, बागलुङलगायतका जिल्लाबाट समेत आएर लाइसेन्स लिने गरेको उनले बताए।
यस कार्यालयबाट ११ महिनाको अवधिमा २१ हजार ६०५ वटा सवारी साधन दर्ता भएका छन्। तीमध्ये ५४ वटा सवारी सरकारी रहेको यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए। सबैभन्दा बढी सवारी दर्ता हुनेमा मोटरसाइकल रहेका छन्।
४० वटा सरकारीसहित १९ हजार ४९६ वटा मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएका छन्। कार, जीप, भ्यान र पिकअप गरेर ७३४, बस र ट्रक ३६७, अटो र टेम्पो ९७२ र ट्र्याक्टर ३६ वटा दर्ता भएको पौडेलले जानकारी दिए। नयाँ सवारी साधन सबैभन्दा बढी असोज महिनामा तीन हजार ५६२ वटा खरिद भएका छन्। सबैभन्दा कम साउन महिनामा ९८९ वटा खरिद भएको उनले बताए।
कार्यालयले चालु आर्थिक वर्षको असार २५ गतेसम्म ९४ करोड ६ लाख ३६ हजार ३६९ रुपियाँ राजस्व संकलन गरेको छ। सबैभन्दा बढी सवारी साधन करमा ६६ करोड ३७ लाख १० हजार २६६, चालक अनुमति पत्र, सवारी दर्ताबाट २२ करोड ९० लाख ४८ हजार, यातायात क्षेत्रको आम्दानी चार करोड ६० लाख ९३ हजार ७७८, प्रशासनिक दण्ड जरिवाना र जफतबाट एक करोड ५७ लाख २ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख २ हजार रुपियाँ राजस्व संकलन भएको उनले बताए।
प्रकाशित: २७ असार २०८२ १६:३४ शुक्रबार



-600x400.jpg)

