१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

सातबुँदे माडी घोषणापत्र जारी गर्दै सकियो प्रथम बागमती सालक सम्मेलन

सालक संरक्षणका लागि ७ बुँदे माडी घोषणापत्र जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सकिएको छ।

चितवनको माडीमा सोमबार आयोजित सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै बजेट व्यवस्थापनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ। बागमतीका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले सालक संरक्षणमा नीति कार्यक्रमसहितको उचित बजेट व्यवस्थापनको प्रतिबद्धता जाहेर गरेकाले सोको वैधानिकता प्रदान गर्न आवश्यक पहल गर्ने निर्णय गरिएको हो।

सम्मेलनले सालक पाइने वन र संरक्षित क्षेत्रहरूमा संरक्षण तथा वासस्थान व्यवस्थापन, संरक्षण शिक्षा अभिवृद्धि लगायतका कार्यहरू सरोकारवाला निकायको पहलमा कार्यान्वयन गर्ने गराउने, चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि तीन तहका सरकार, संरक्षण साझेदार संघसंस्थाहरू, स्थानीय समुदायहरूको सहयोगमा सामूहिक पहल गर्ने, नेपाल सरकारले तर्जुमा गरेको सालक संरक्षण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न प्रदेशस्तरीय योजना बनाइ सोको लागी आवश्यक साधन स्रोत जुटाइ लागू गर्ने, स्थानीय समुदायको सहभागितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरू, विश्व विद्यालय, तिनै तहका सरकार समेतको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्ययन अनुसन्धान अगाडि बढाउने, सालक संरक्षणका लागि स्थानीयको सक्रिय सहभागिता र अपनत्व हुने गरी संरक्षण कार्ययोजना निमार्ण तथा प्रभावकारी कार्यान्वयन गर्ने र अन्य सबै प्रदेश तथा राष्ट्रियस्तरमा सालक सम्मेलन गर्न बागमती प्रदेश सरकार मार्फत अनुरोध गर्ने निर्णय गरेको बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव डा.केदार बरालले जानकारी दिए।

सम्मेलनको आज बागमतीका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले उद्घाटन गरेका थिए। वन मन्त्रालयका सचिव डा.केदार बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनमा विज्ञ र सरोकारवाला समेटिएको प्यानलगत छलफल गरिएको थियो। पहिलो सत्रमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्य, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशी र सालक अनुसन्धानकर्ता डा.हरि शर्माले सालकको अवस्था र हाल भइरहेका काम र गर्नुपर्ने कार्य बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यस्तै दोस्रो सत्रमा डा.तुलसी लक्ष्मी सुवाल, वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य र बागमती प्रदेश वन मन्त्रालयका सचिव डा.केदार बराल सम्मिलित प्यानल छलफल गरिएको थियो।

संसारभर संकटापन्न स्तनधारी प्राणी सालक संरक्षणका लागी बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण साझेदार संघसंस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूह, लगायतका सरोकारहरूले गम्भीर चासो देखाएका छन्। बागमती प्रदेशमा तामे सालक र कालो सालक नामक दुई वटा प्रजातिहरू यस प्रदेशभर भेटिएका छन्। अवैध व्यापार र वासस्थान विनाश समेतका कारण सालक संकटापन्न अवस्थामा रहेका छन्। यी जोखिमहरूलाई नियन्त्रण गर्दै सालक संरक्षण गर्नु सबैको साझा दायित्व भन्दै प्रदेश सरकारले संरक्षणको अग्रसरता लिएको हो।

‘प्रकृतिको साथी सालकको संरक्षण गरौं’ भन्ने नारा साथ आयोजित सम्मेलनमा संघीय तथा प्रदेश वन तथा वातावरण मन्त्रालय मातहतका निकायहरू, संरक्षण साझेदार संघसंस्थाहरू, संरक्षणकर्मी, विज्ञ, समुदायमा आधारित वन उपभोक्ता समूहहरू लगायत सरोकारवाला निकायहरू समेतको उपस्थितिमा बृहत् छलफल गरिएको थियो।

प्रकाशित: २६ माघ २०८२ २०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App