सुर्खेतको चिंगाड गाउँपालिकाको प्रशासनिक केन्द्र विवादले उग्ररूप लिएको छ। गाउँपालिकाको केन्द्र विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला कार्यपालिकाको बहुमतबाट वडा नं. २ को राजीकुनाबाट गर्ने निर्णय गरेको थियो।
अघिल्लो कार्यकालमा बहुमतको निर्णय अनुसार पुङखेतमा गाउँपालिकाको प्रशासनिक केन्द्र सार्ने निर्णय भएको थियो। सो निर्णयविरुद्ध तत्कालीन गाउँपालिका उपाध्यक्ष मनमाया आचार्यसहित सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले २०७८ भदौ १३ गते फैसला नहुँदासम्मका लागि अस्थायी मुकामबाटै प्रशासनिक केन्द्र सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चको फैसला नआउँदै हालैको कार्यपालिका बैठकले बहुमतका आधारमा सामुदायिक भवन राजीकुनामा गर्ने निर्णय गरेको थियो। ‘यस गाउँपालिकाको प्रशासनिक केन्द्रको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा प्रशासनिक कामकाज र गाउँसभा, कार्यपालिका बैठकलगायत अन्य कार्यक्रमहरूको सञ्चालन फरक फरक स्थानबाट भइरहेकोले सेवा प्रवाहमासमेत असर परिरहेको छ', चैत २६ गतेको बहुमतको निर्णयमा भनिएको छ, ‘गाउँपालिकाको कार्यालयको प्रशासनिक कामकाज र गाउँसभा, कार्यपालिका बैठकलगायत अन्य कार्यक्रमहरू आजको मितिदेखि सामुदायिक भवन राजीकुनाबाट सञ्चालन गर्ने र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको टुंगो लागेमा सोही बमोजिम गर्ने निर्णय सर्वसम्मत पारित गरियो।’
यही निर्णयका आधारमा अवलचिङमा रहेको अस्थायी प्रशासनिक केन्द्रमा सामान लिन गएका दुई वटा ट्याक्टरलाई स्थानीयले फिर्ता पठाएका छन्। वडा नम्बर ५ का अध्यक्ष लालबहादुर जिसीले अवलचिङमा रहेको प्रशासनिक केन्द्रबाट कागजपत्र लिन आएका ट्याक्टरहरूलाई स्थानीयले नियन्त्रणमा लिएर राखेको बताए। अस्थायी केन्द्रका स्थानीयहरू हातमा लाट्ठी बोकेर प्रदर्शन गरिरहेका छन्।
‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशविपरित पालिका अध्यक्ष बोधविक्रम जिसीले बहुमतको धम्की दिँदै पालिकाको केन्द्र सार्ने निर्णय गराए,’ उनले भने, ‘त्यसकाविरुद्ध स्थानीयहरू आन्दोलित भएका छन्।’ उनले पुङखेतमा केन्द्र सार्ने निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका बेला कार्यपालिकाको बहुमतबाट राजीकुनामा स्थायी केन्द्र सार्ने निर्णय गरिएको भन्दै आपत्ति जनाए।
केन्द्र सार्ने निर्णयविरुद्ध गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रोकाय, वडाध्यक्ष लालबहादुर जिसी, पाँच नम्बर वडाका वडा सदस्यहरूले नोट अफ डिसेन्ट लेखेका छन्। केन्द्र विवादका कारण एक सातादेखि पालिकाको प्रशासनिक काम ठप्प भएको छ।
प्रकाशित: ६ वैशाख २०८३ १२:२२ आइतबार





