१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

विभागले भन्यो : वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकलाई प्रस्थानमा थप कागजात चाहिँदैन

वैदेशिक रोजगारका लागि विदेश जाने नेपाली श्रमिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रस्थान गर्दा अतिरिक्त कागजात (बिल/रसिद) पेस गर्नुपर्ने भन्ने अन्योल हटाइएको छ।

अध्यागमन विभागले एक सूचना जारी गर्दै सूचना तथा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान हुने नेपाली श्रमिकहरूले विल/रसिद लगायतका थप कागजात लिएर मात्र प्रस्थान गर्न मिल्ने सम्बन्धमा आम सर्वसाधारणमा उत्पन्न अन्यौलताप्रति विभागको ध्यानाकर्षण भएको जनाएको छ।

विभागका अनुसार नेपाल सरकार, गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार विदेश जाने नेपाली नागरिकका लागि प्रक्रिया सरलीकृत गरिएको छ। भिजिट भिसामा यात्रा गर्नेका हकमा कम्तिमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने व्यवस्था छ।

'नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२/०७/१३ को मन्त्रिस्तरीय निर्णय र प्रचलित अध्यागमन कानून अनुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तिमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणा सहित विदेश प्रस्थान सरलीकृत र व्यवस्थित गरिएको छ,' सूचनामा भनिएको छ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति र राहदानी लगायतका आधारभूत कागजात बाहेक थप कुनै पनि कागजात वा बिल/रसिद पेश गर्न आवश्यक नपर्ने स्पष्ट गरिएको छ।

विभागले यस सम्बन्धमा विदेश यात्रा गर्ने नेपाली नागरिकहरू कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अध्यागमन अनुरोध समेत गरेको छ। 

'वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानी लगायतका न्यूनतम् आधारभूत कागजात बाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा विल/रसिद पेश गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ,' सूचनामा उल्लेख छ।

प्रकाशित: २८ चैत्र २०८२ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App