२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

आयोग भन्यो: जेन-जी आन्दोलनमा दुई समूह सक्रिय, एउटा शान्तिपूर्ण र अर्को ध्वंसात्मक

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दुईवटा फरक फरक उद्देश्य बोकेका समूहहरू सक्रिय रहेको निष्कर्ष निकालेको छ।

आयोगको विस्तृत छानबिन प्रतिवेदनअनुसार एउटा समूहले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहँदा अर्को समूहले भने आन्दोलनलाई नियोजित रूपमा हिंसात्मक र ध्वंसात्मक बनाउने योजना बुनेको पाइएको हो।

आयोगको प्रतिवेदनको पृष्ठ ३ को बुँदा नम्बर ३ मा आन्दोलनको प्रकृति र तयारीबारे विश्लेषण गरिएको छ। जसमा भनिएको छ, ‘२०८२ भाद्र २३ गतेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा गर्ने भनी एउटा समूह र अनलाइनमा ध्वंसात्मक बनाउने भन्ने अर्को समूह गरी २ वटा समूहले तयारी गरिरहेको सञ्चार माध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ।’

आयोगले आन्दोलन हुनुभन्दा अगाडि नै सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकताबाट सिर्जित फोटो र भिडियोहरू व्यापक रूपमा फैलाइएको तथ्य फेला पारेको छ।

प्रतिवेदनअनुसार आन्दोलन सुरु हुनुअगावै संसद् भवन र सिंहदरबार जलिरहेको जस्ता ‘एआई जेनेरेटेड’ दृश्यहरू सार्वजनिक गरी मानिसहरूलाई उत्तेजित बनाइएको थियो।

‘संसद् भवन, सिंहदरबार लगायत सार्वजनिक संरचना जलाइएको वा विध्वंस गरिएको एआई जेनेरेटेड फोटो र भिडियोहरू प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्यले आन्दोलनलाई विध्वंसात्मक बनाउने योजना अर्को समूहमा रहेको देखियो,’ प्रतिवेदनमा उल्लेख छ।

आन्दोलनलाई हिंसात्मक बनाउन केही सामाजिक सञ्जाल ह्यान्डलहरूले पहिले नै निर्देशन दिएको आयोगको ठम्याइ छ। ‘वेक अप नेपाल’ नामक टिकटक अकाउन्टबाट भदौ २३ अगाडि नै ‘Anything could happen in tomorrow's protest, so be ready with a Molotov cocktail...’ (भोलिको आन्दोलनमा जे पनि हुन सक्छ, पेट्रोल बमसहित तयार रहनु) भनी आह्वान गरिएको प्रतिवेदनमा जनाइएको छ।

यस्तै, ‘No more screens, we are on streets’ र ‘We don't want likes, we want change’ जस्ता नाराहरू सिर्जना गरेर भिडलाई सडकमा आउन प्रेरित गरिएको थियो।

कतिपय व्यक्तिहरूले सेप्टेम्बर ७ मै पेट्रोल बम बनाएर आउन निर्देशन दिएको समेत छानबिनमा खुलेको छ।

एकातिर विद्वान बुद्धिजीवी, मानव अधिकार रक्षक र कलाकारहरूले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मागमा समर्थन जनाइरहेका बेला, अर्कोतिर विद्यालयका डिजिटल बोर्ड र वेबसाइटहरू ह्याक गर्ने र हिंसा भड्काउने काममा अर्कै समूह संलग्न रहेको आयोगले स्पष्ट पारेको छ।

यही दुई धारको टकराव र ध्वंसात्मक समूहको सक्रियताका कारण शान्तिपूर्ण भनिएको आन्दोलन अन्ततः ज्यानमारा हिंसामा परिणत भएको आयोगको निष्कर्ष छ।

प्रकाशित: १३ जेष्ठ २०८३ १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App