जेनजी युवाहरूको नामबाट विभिन्न सरकारी कार्यालयमा गएर धम्की दिने समूहको नेतृत्व गर्ने अर्जुन शाही ठकुरी आफैँ ठगी आरोपी भएको पाइएको छ। उनीविरुद्ध नेपाल प्रहरीमा दुईवटा उजुरी परेको पाइएको छ। अछाम घर भएका ठकुरीलाई बैकिङ कसुरको मुद्धामा फरार रहेको निवेदन महाराजगन्ज प्रहरी वृत्तमा परेको थियो।
गत वैशाख ३० गते उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो। त्यसयता उनी फरार रहेका थिए। तर जेनजी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर कार्यालय प्रमुखहरूलाई थर्काउने र कानुन कार्यान्वयन कर्ता नै आफू भएको जसरी प्रस्तुत भएका थिए।
उनीविरुद्ध बैंकिङ कसुर र वैदेशिक रोजगार विभागमा मुद्दा चलेको थियो। श्रीकृष्ण फुयालले शाहीविरुद्ध बैंकिङ कसुरमा प्रहरीमा उजुरी हालेका थिए। जेनजीको प्रर्दशनभन्दा केही समय अगाडि मात्र उनी हिरासतमुक्त भएका हुन्।
गत वैशाख ३० गते प्रहरी वृत्त महाराजगञ्जले अर्जुनबहादुर शाही लगायतलाई उपस्थित गराउन वैदेशिक रोजगार विभागलाई पत्र काटेको थियो। विभागबाट छुटी जाने अवस्था देखिएमा वृत्तमा उपस्थित गराउन भनिएको थियो। शाहीलाई वैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले पक्राउ गरेको थियो। ’उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुर पत्रद्वारा तालुक कार्यालयमा वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि दाखिला गरेको हुँदा प्रतिवादी अर्जुनबहादुर शाही तालुक कार्यालयमा दर्ता भएको मुद्दाको अनुसन्धान पश्चात छुटी जाने भएमा यस कार्यालयमा श्रीकृष्ण फुयालले दर्ता गराएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि अर्जुनबहादुर शाहीलाई यस कार्यालयमा दाखिला गरी दिने व्यवस्था गरी दिन हुन सादर अनुरोध गरिएको छ,’ प्रहरीको पत्रमा उल्लेख छ।
उनलाई महाराजगञ्जले उनीविरुद्ध दुई वटा उजुरीमा मुद्दा चलाएको देखिएको छ। अहिले उनी जेनजी अभियान्तको रूपमा अघि सरेर भ्रष्टचार विरोधी अभियानमा देखिएका छन्।
प्रकाशित: २८ आश्विन २०८२ १४:१२ मंगलबार




-600x400.jpg)
