२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

बडिमालिका पूजाको लागि कालीकोटबाट टोली प्रस्थान

पूजाको डोली बोकेर कालीकोटको सरकारी टोली बाजुरास्थित बडिमालिका मन्दिर प्रस्थान गरेको छ। पुरानो बडिमालिका पूजा गर्ने चलनअनुसार कालीकोटको सरकारी टोली शुक्रबार  डोलीसहित बडिमालिका मन्दिर तर्फ लागेको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार  लक्ष्मीरुद धितालको नेतृत्वमा दश जनाको सरकारी टोली,मुख्य पुजारी हरिकृष्ण धमला सहित तीन जना पुजारी  र अन्य स्थानीय बडिमालिका गएको प्रमुख जिल्ला अधिकारी   नारायणप्रसाद भट्टराईकाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अगाडिको  मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो ।  जिल्ला प्रशासन कार्यालय अगाडिदेखि सुरु गरिएको बडिमालिका माइको पुकारपछि  बडिमालिका जाने टोली अघि बढेको छ ।

परम्परादेखि चलिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको मातहतबाट डोली र भेटी सहित सरकारी टोली माइको दर्शको लागि हिँडेको छ। बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत,सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र स्थानीय भक्तजनहरूले भव्य रुपमा बिदाइ गरेका छन् ।

स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् । कालीकोटबाट लिएको अक्षता,फूलपाती बडिमालिकामा चढाइन्छ । बडिमालिकाको डोली पठाउन  दर्शनालुहरु  भेला लागेका थिए । यो सँगै यस वर्षको जात्रा औपचारिक रुपमा सुरु भएको छ।

खालि खुट्टा डोली,पेटारो र पूजा सामग्रीसहित तयारी भएर प्रत्येक वर्ष बडिमालिका जाने गरेको पुजारी हरिकृण धमलाले बताए ।

हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ । बडिमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ, गढवाल, पिथौरागडलगायतका ठाउँबाट पनि तीर्थयात्रीहरू बडिमालिका पुग्ने गर्छन् ।

बडिमालिकाको पूजाका लागि तत्कालीन सिञ्जा राज्य जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाउने प्रचलन हालसम्म पनि कायमै छ ।

प्रकाशित: १६ श्रावण २०८२ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App