३ असार २०८३ बुधबार
image/svg+xml
समाज

उद्योग बन्द गरेरै विरोधमा उत्रिए चिया उद्योगी

इलामका चिया उद्योगी र किसानले भारतले ‘नियतबस’ नेपाली चियामा अवरोध गर्दा पनि सरकारले चासो नदिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलको मेची राजमार्गमा उद्योगी र किसानले विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।

भारतले विभिन्न बहानामा नेपाली तयारी चिया भारतमा विक्री गर्न अवरोध गरेको भन्दै उद्योगीले असार १ देखि ५३ उद्योग बन्द गरेका छन् । उद्योग बन्द हुँदा हरियो चिया पत्ती टिप्न नपाएका किसानसमेत आन्दोनलमा होमिएका छन् ।  

सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएनले अनिश्चितकालका लागि गरेको उद्योग बन्दलाई झापा र इलामका अन्य उद्योगी–व्यवसायीले समेत साथ दिएका छन् । उनीहरूले पटक–पटक चिया विक्री सहज बनाउन माग गर्दा पनि सरकारले चासो नदिएको जनाएका छन् । एसोसिएसनमा महासचिव गोपाल कट्टेलले सरकारलाई काठमाडौं नै पुगेर अनुरोध गर्दासमेत आफूहरूको माग बेवास्ता गरेको बताए । ‘नेपाली चिया सबैभन्दा ठूलो परिमाणमा भारतमै विक्री हुन्छ तर पछिल्लो समय भारतले गुणस्तर र विभिन्न मापदण्ड देखाएर विक्री अवरोध गरेको छ,’ उनले भने, ‘तयारी चिया विक्री नहुँदा उद्योगीलाई त घाटा छँदैछ, किसानलाई हरियोपत्तीको मूल्य कसरी दिने ?’  

चियाको हरियोपत्ती ७/७ दिनमा टिप्नुपर्छ, १ दिन ढिलो हुँदासमेत चियाको गुणस्तरमा असर पुग्छ । तर, लगातार ३ दिन उद्योग बन्द हुँदा हरियोपत्ती नष्ट भइरहेको छ । चियामा वर्षभरको मेहनतपछि हरियोपत्ती टिपाइको मुख्य सिजनमै उद्योग बन्द भएपछि किसानको हातमुख जोर्ने बाटामै धक्का लागेको छ ।  

एसोसिएसनमा ५३ उद्योग छन् । सूर्योदयमा २ हजार ९ सय ९५ किसानले दिनहुँ हरियो चियापत्ती ती उद्योगमा ल्याउनेगरेको तथ्यांक छ । चिया उद्योग बन्द हुँदा किसानमात्र नभई श्रमिक, ढुवानीकर्ता, व्यापारीलगायत सबै क्षेत्रलाई असर पुगेको छ । उनीहरूसँग जोडिएका परिवारलाई समेत यसको सोझो प्रभाव परेको छ ।

गुणस्तर जाँच गर्ने बहानामा भारतीय पक्षले तयारी नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी महिनादिनसम्म अड्काइदिने गरेको उद्योगीको भनाइ छ । उद्योगीका अनुसार अहिले नेपाल–भारत सीमा कटेर भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा उतै अलपत्र छ । यता उद्योगमा प्रशोधन भइसकेको ७ लाख किलोभन्दा धेरै स्टक छ ।

दिनहुँ चिया प्रशोधन गर्दा उद्योगहरूको भण्डारण नै भरिएर राख्ने ठाउँ पनि नभएको उद्योगीले बताए ।  ‘किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको तयारी चिया न बिक्छ, न भण्डारण गर्ने ठाउँ नै खाली छ,’ उद्योगी डिल्ली श्रेष्ठले भने । चैत र वैशाख सबैभन्दा धेरै गुणस्तर र मूल्यको चिया उत्पादन हुने सिजन (फस्र्ट फ्लस) हो । त्यसबाट प्रशोधित उच्च मूल्यको तयारी चिया बेच्ने सिजन यही हो । तर, यहीबेला भारतले गुणस्तर परीक्षणमा निकै झन्झटिलो नियम लागु गरेको उद्योगीले जनाएका छन् ।  

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ । यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ । एसओपी लागु गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ । एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीं रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्नेगरी कडाइ गरिएको उनको भनाइ छ ।

भारतीय बोर्डको अवरोधपछि उद्योगी गत वैशाख २७ मा काठमाडौं नै पुगेर प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्राालयसँग कूटनीतिक पहलका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय चिया बोर्डले १९ मे २०२६ मा दोस्रो विज्ञप्ति जारी गरी भारतीय घरेलु बजारमा नेपाली चिया विक्री गर्न पाइने व्यवस्थाको जानकारी गरायो । त्यसपछि केही उद्योगले यहाँको चिया बिक्री पनि गरेका थिए । तर, पुनः भारतीय बोर्ड आफैंले १९ मेको विज्ञप्ति आधिकारिक नभएको भन्दै १ मेकै प्रावधानमा कडाइ गरेपनि उद्योगी चिन्तित भएका हुन् । 

प्रकाशित: ३ असार २०८३ १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App