१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

डेढ महिनादेखि सुठौली भन्सार प्रमुखविहीन, कर्मचारीले दसैंमा पनि तलब पाएनन्

सरुवा भएका प्रमुख बिष्ट आउन आनाकानी

कपिलवस्तुको दोस्रो ठूलो सुठौली भन्सारमा डेढ महिना प्रमुखविहीन हुँदा भन्सारका कर्मचारीले दसैंमा पनि तलब पाउन सकेनन्। प्रमुख नहुँदा भन्सार कार्यालय निमित्तको भरमा चलेको छ। 

निमित्तलाई आर्थिक अधिकार नहुँदा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म भन्सारका कर्मचारी तलबबाट वञ्चित भएको लेखा अधिकृत महेन्द्र न्यौपानेले बताए। यो मातहतमा रहेका र यो कार्यालयमा गरी १२ भन्दा बढी कर्मचारी कार्यरत छन्। विगत ३९ दिनदेखि भन्सार निमित्तको भरमा चलेको छ।  

भन्सार प्रमुख नारायण गैरे सरुवा भई गत भदौ १८ गते नै बेलहिया भन्सार कार्यालयमा गएपछि अहिले सुठौली भन्सार निमित्तको भरमा चल्दै आएको छ। ३९ दिनदेखि नासु जगत गुरुङ निमित्तको रूपमा काम गर्दै आएका छन्। 

त्रिभुवन विमानस्थलमा रहेका किरण बिष्टको प्रमुखको रूपमा सुठौली भन्सारमा सरुवा भए पनि अझै नआएको भन्सार प्रशासनले जनाएको छ। यो भन्सारमा आउन बिष्टले आनाकानी गरेको स्रोतले जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले यो विषयमा आफूले भन्सार विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई केही दिनअघि अवगत गराएको बताए। 

कपिलवस्तुका भन्सार कार्यालय निरीक्षणमा आएका बेला उपमहानिर्देशक पाण्डेलाई आफूले भन्सार प्रमुखलाई चाँडो कार्यालय हाजिर हुन पठाउन आग्रह गरेको बताए। भन्सारमा एक वर्षमा एक अर्बभन्दा बढी राजस्व सङ्कलन हुने गरेको छ।  

प्रकाशित: २६ आश्विन २०८२ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App