५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

कन्काई पुलको शंकास्पद वस्तु निष्क्रिय

झापाको शिवसताक्षी र कन्काई नगरपालिकाको सिमानामा पर्ने कन्काई नदीको पुलमा मंगलबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु हटाएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुनसाथ त्यहाँ सुरक्षा सतर्कता अपनाउँदै राजमार्ग पूर्ण रूपमा बन्द गरेका थियौँ। प्रहरीको नियमित गस्तीका क्रममा मंगलबार बिहान गस्ती गर्दै जाँदा कन्काई नदीको पुलको पश्चिमतर्फ एउटा शंकास्पद वस्तु देख्यौँ, डिएसपी खड्काले भने, ‘हाम्रो टोलीले शंकास्पद वस्तु देखेपछि सुरक्षा सतर्कता अपनाउँदै केही समयका लागि सडक अवरुद्ध भयो। घटनास्थलमा पुगेको सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा निष्क्रिय परेपछि पुनः यातायातलगायत सुचारु भएसँगै हाल अवस्था सामान्य रहेको छ।’

केही घण्टा सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए। प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु ‘होक्स’ अर्थात् नक्कली बम रहेको खुलेको छ। यसअघि पुसमा पनि यही पुलको पूर्वतर्फ पनि यस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाले निष्क्रिय पारेको थियो।

त्यस बेला शंकास्पद वस्तु फेला परेको ठाउँमा सनातन सुरक्षा सेना नेपालले विभिन्न मागसहितको पर्चामा विशाल अक्सन इन्चार्जले हस्ताक्षर गरेको पर्चा फेला परेको थियो। त्यो पर्चा कसले राखेका हो भनेर प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ वा नियन्त्रणमा लिएको छैन।  

प्रकाशित: ५ फाल्गुन २०८२ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App