प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताएका छन्।
सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एशोसिएसनका अध्यक्ष तथा सचिवहरुसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सो कुरा बताएका हुन्।
‘शीघ्र सेवा सञ्चालन गर्छौं’, प्रधानन्यायाधीश राउतले भने, ‘सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुनेबित्तिकै सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालन हुन्छ।’
सूचना प्रविधिको शाखाले दिनरात काम गरिरहेको उनले जानकारी दिए। प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गर्ने बताए।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा गरिएको आगजनीमा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं र उच्च अदालत तुलसीपुरमा ठूलो क्षति पुगेको थियो। हाल सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा अतिआवश्यक सेवा सञ्चालन भइरहेका छन्।
प्रकाशित: २३ आश्विन २०८२ १९:२८ बिहीबार


-600x400.jpg)


