२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्न कडाइ आवश्यक

सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आयोजना गरेको खुल्ला सीमा नाका कारण हुनसक्ने पशु तथा कृषिजन्य पदार्थहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।  

अन्तरदेशीय सीमा क्षेत्रमा हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको गर्दै सरोकारवालाले सीमामा परिचालित सुरक्षाकर्मी तथा सरोकारवाला निकायले  सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने बताए ।  

शस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाकामा हुने अवैध गतिविधि तथा ओसारपसारमा संलग्नसम्बन्धी सूचना समयमा नै प्राप्त गर्न सीमा क्षेत्रको समुदायस्तरमा सूचक तयार गरी कार्य गर्न जरुरी रहेको बताए ।  

महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण कार्यमा एकले अर्कोलाई दोष लगाएर पन्छिनुभन्दा पनि आपसी समन्वय र सहकार्य गरी अवैध ओसारपसार र चोरीनिकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सकारात्मक भावना लिएर इमान्दारिताका साथ कार्य गर्न सकियो भने राजस्व वृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले खुला सीमा नाका कारण हुने अवैध क्रियाकलाप तथा गतिविधिलाई न्यूनीकरण, रोकथाम तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रदेशस्तरमा यस्ता कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सरोकारवाला निकायसँग आपसी समन्वय तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।  

पशु सेवा विभाग हरिहरभवन ललितपुरका महानिर्देशक डा रामनन्दन तिवारीले अन्तरदेशीय खुल्ला सीमा नाका कारण पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारको नियन्त्रण एवं नियमन, कृषि क्षेत्रको वर्तमान अवस्था, अवैध ओसारपसारले कृषि बजार क्षेत्रमा पारेको नकारात्मक प्रभाव, समस्या र चुनौतीमा प्रस्ष्ट पारे ।  

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण तथा रोक लगाउने कार्यमा अन्तरनिकाय बीच आपसी समन्वय र सहकार्य गरी सीमा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।  

प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले सीमामा परिचालित सम्बद्ध निकायलाई प्रविधि, स्रोतसाधन तथा भौतिक पूर्वाधारको समेत उपलब्धता गराउनुपर्ने बताए ।  

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशन विनोदप्रसाद उपाध्यायले सीमा नाकामा अन्तरराष्ट्रिय मापदण्ड अनुरुप मान्यता प्राप्त विलविजक नभएका सामानको जाँच गरी अवैध ओसारपसार नियन्त्रण गर्न सरोकारवाला निकाय तदारुकतासाथ लाग्नुपर्ने बताए । रासस

प्रकाशित: १२ मंसिर २०८२ २१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App