चार वर्षअघि भारतीय तस्कर समुहको आक्रमणबाट नेपालका तीनजना सशस्त्र प्रहरी घाइते भए। साँझको समयमा दोधाराचाँदनी नगरपालिका - ८ को कञ्जभोजनजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि भारतीय तस्कर समुहले आक्रमण गर्दा उनीहरू घाइते भएका थिए। यो घटना २०७८ असोजको हो।
त्यस्तै २०७७ साउन ४ मा पनि नेपाल -भारत सीमा क्षेत्रको अर्काे नाका झापाको गौरीगन्ज गाउँपालिका -५ मा भारतीय तस्कर समुहले सशस्त्र प्रहरी टोलीमाथि आत्रमण गर्यो। नेपाल–भारत सीमा क्षेत्रको १५२ नम्बर पिलरपूर्व मल्हाटोलीनजिकै भारतीय तस्कर समुहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा सशस्त्रका दुई जवान घाइते भएका थिए।
भारतीय तस्करको टोली र सशस्त्र प्रहरीबिच २०७७ जेठ ३१ मा सर्लाहीको नारायणपुर नाकामा झडप भएको थियो। त्यस दिन अवैधरूपमा नेपाल पस्न खोजेको भारतीय तस्करको टोलीलाई रोक्न सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीयको मृत्यु भएको थियो। घटनामा सशस्त्र प्रहरीका तीन र तस्कर समुहका दुईजना घाइते भएका थिए।
यसैगरी २०७७ जेठ १८ मा सर्लाहीकोको विष्णु गाउँपालिका– २ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समुहले आक्रमण गरेको थियो। यसरी तस्करको समुहले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै आएका छन्।
सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जस्थित एउटा गोदाममा छापा मार्ने क्रममा झडप भयो। सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित एक गोदाममा छापा मार्ने क्रममा व्यापारी र सुरक्षाकर्मीबिच झडप भएको थियो तर सशस्त्रसँग झडप हुँदा व्यापारीहरू थिएनन्, तस्करहरू मात्र थिए।
आर्थिक नगर मानिने वीरगन्जमा भन्सार छलेर भित्र्याइएका सामान भण्डारण गरिएको आशंकामा मदनप्रसाद गुप्ताको गोदाममा सशस्त्र प्रहरी बल १३ नं गण र भन्सार कार्यालयको संयुक्त सुरक्षा टोलीले दिउँसो छापा मारेको थियो। छापा मार्ने क्रममा टोलीले करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्यबराबरका पाँच पोका कपडा बरामद गरेपछि तस्कर समुहले आक्रमण गरेको थियो।
भन्सार छलीका कपडा बरामदपछि लोड गर्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गरिएको थियो। त्यसपछि भएको झडपका क्रममा तीन सशस्त्र प्रहरीका तीनजना सामान्य घाइते भएको र गाडीमा क्षति पुगेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणकारीको आक्रमणबाट घाइते सशस्त्रका तीन प्रहरीको नारायणी अस्पतालमा उपचार भइरहेको छ र उनीहरू खतरामुक्त छन्।
पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। उनले सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि तस्कर समुहसँगै स्थानीय नागरिक पनि आइलागेको र सशस्त्रले देखाएको सुझबुझले ठुलो घटना हुन नपाएको बताए।
‘सुरक्षाकर्मीहरूको पनि उपस्थिति रह्यो, सशस्त्र प्रहरी कुनै ठुलो जवाफी प्रक्रिया सुरु नगरेर पछाडि हट्यो, जसले गर्दा अप्रिय घटना हुन पाएन। तस्कर समुहमाथि प्रत्याक्रमण हुँदा कहिलकाहीं मानवीय क्षति हुन्छ। आक्रमणकारी समुहको प्रहरीले खोजतलास गरिरहेको छ, कारबाहीको दायरामा ल्याइन्छ’, एसपी पाठकले भने।
सीमा सुरक्षा तथा वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीले गोदाम खानतलासी गर्ने क्रममा व्यापारीहरूले अवरोध गरेपछि झडप सुरु भएको बताएका छन्। बरामद कपडा वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको थियो। सशस्त्र प्रहरी बल नेपालले घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
सशस्त्र प्रहरी गण १३ नम्बर पर्साका प्रवक्ता डिएसपी मोहन निरौलाले घटनामा संलग्न केही मानिसको पहिचान भइसकेको तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा कारबाही प्रक्रिया अगाडि बढाइसकिएको बताए। घटनामा संलग्नको नाम किटानी गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि सशस्त्र प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको छ।
सशस्त्र प्रहरीमाथि दुई वर्षयता तस्कर समुहले निरन्तर आक्रमण गर्दै आएका छन्। २०८१ साल भदौमा सिरहामा मदिरा तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको मृत्यु भएको थियो।
नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका– १ कचनारीमा तस्करीको सामान बोकेको ट्रकले किच्दा उनको मृत्यु भएको थियो। एक वर्षअघि पनि सर्लाहीमा भेप बोकेको ट्रकलाई रोक्न खोज्दा तस्करको आक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक घाइते भएका थिए। घाइते अवस्थामा अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित: २८ माघ २०८२ १२:०० बुधबार





