२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

पर्यटकीय सहरमा सार्वजनिक सवारीको ‘धुँवा आतंक’

पोखरामा प्रदूषण मापन गर्नका लागि रोकिएका सवारी। तस्बिरः नागरिक

पोखरा नगरभित्र संचालन हुने नगरबसले अधिक धुँवा फ्याकेको र प्रदूषण बढाएको गुनासो पर्याप्त आउँछ। यतिसम्मकी बसको पछिपछि दुईपांग्रे सवारीमा यात्रा गर्नुपरेको खण्डमा बाटो नै नदेखिने र निसासिने अवस्था समेत निम्तिने गरेको गुनासो पोखरेलीले गर्ने गरेका छन्। नगर बसले अधिक धुँवा फ्याकेको गुनासो आउन थालेपछि यातायात व्यावस्था कार्यालयले आकस्मिक रुपमै नगरभित्र गुड्ने सवारीको प्रदूषण मापन गर्न थालेको छ।

सवारीको प्रदूषण मापन गर्दा धेरै सवारीले अधिक प्रदूषण गरेको पुष्टि भएको यातायात व्यवस्था कार्यालय कास्कीको भनाई छ। कार्यालयका प्रमुख ढाकाप्रसाद शर्माका अनुसार आइतबार पोखरा सहरभित्र गुड्ने ४० वटा नगर बस परीक्षण गर्दा १५ वटा सवारीले बढी धुँवा उत्सर्जन गरेको पुष्टि भएको थियो। शर्माका अनुसार अहिले सन् १९९५ पछि बनेका डिजेलबाट चल्ने सवारीका लागि धुँवाको घनत्व ६५ तोकिएको छ।  

सामान्यतया नगरबसले उत्सर्जन गरेको धुँवाको घनत्व ६५ भन्दा तल हुनुपर्नेमा कतिपयको १०० सम्म पनि पुगेको उनले बताए। ‘आइतबार १५ वटा सवारीलाई त अधिक धुँवा उत्सर्जन गरेको प्रमाणित भएपछि कारवाहि गरिएको छ। यसअघि पनि यस्तै अवस्था आएको हो,’ शर्माले भने, ‘नगरबस मात्र नभई खानेपानी बोक्ने ट्यांकर र फोहोर बोक्ने सवारीको पनि प्रदूषण मापन गरिएको थियो।’

उनका अनुसार आइतबार सबैगरि ८० वटा सवारीको प्रदूषण मापन गरिएको थियो। तर, ती मध्ये ४० वटाको परीक्षण प्राविधिकले मेसिन बिना नै गरेका थिए। बाँकी ४० वटाको भने प्रदूषण मापन गर्ने मेसिन नै प्रयोग गरेर परीक्षण गरिएको थियो। ‘प्राविधिकले आँखाले हेरेरै पनि थाहा पाउन सक्ने अवस्था भएपछि ४० वटाको यत्तिकै परीक्षण गरियो। इन्जिन चलाएर प्राविधिकले नै परीक्षण गरेका थिए। बाँकी ४० वटाको प्रदूषण मापन मेसिनले गर्दा १५ वटाले घातक धुँवा उत्सर्जन गरेको पुष्टि भएको हो।’  

उनका अनुसार धुँवाको घनत्व ६५ भन्दा बढि देखिएमा ती सवारीले उत्सर्जन गरेको धुँवा स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसअघि असारमा पनि यसैगरि सवारीको प्रदूषण गरिएको थियो। त्यो बेला पनि यस्तै अवस्थाका सवारी फेला परेका थिए। शर्माका अनुसार सवारीले उत्सर्जन गरेको धुँवा यतिसम्म प्रदूषित छ की अघिल्लो पटक त मेसिन नै बिग्रेको थियो। त्यसपछि प्रदूषण मापदण्ड परीक्षण नै रोकिएको थियो।  

‘असारको सुरुवातमा मेसिन बिग्रियो। त्यसपछि रोकिएको काम अहिले अर्काे मेसिन आएपछि सुचारु भएको छ,’ उनले भने, ‘अब यसलाई गति दिन्छौ। पोखराको वायु प्रदूषण गर्नका लागि हामी सबैको भूमिका रहन्छ।’ 

उनका अनुसार अहिलेसम्म प्रदूषण गर्ने सवारीलाई नियन्त्रणमा लिएर सर्भिसिङ गर्न लगाउने, प्रदूषण गर्ने सवारीलाई मर्मतसम्भार गर्न लगाउने र पास भएपछि मात्र छाड्ने गरिएको छ। तर, अब भने जरिवाना नै गर्नेगरि काम अघि बढाएको उनले बताए।

‘अहिलेसम्म सामान्य चेतावनि सहित मर्मतसम्भारमा जोड दिएका छौ। तर, अब भने जरिवाना नै गर्छाै। नियमित रुपमा परीक्षण गर्न पनि पाएनौ। त्यही भएर जरिवानालाई पनि प्राथमिकता दिएका थिएनौ। तर, अब भने जरिवाना हुनेछ,’ उनले भने, ‘प्रदूषण मापन गर्दा फेल हुने सवारीलाई कारवाहि हुनेछ।’ उनका अनुसार प्रदूषण मापन गर्दा फेल भएका सवारी धनीलाई २ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको छ।  

उनका अनुसार अहिले पोखरा सहरभित्रका सवारीले बढि प्रदूषण गरेको देखिएपनि लामो दूरीमा संचालन हुने सवारीको अवस्था पनि उस्तै रहेको छ। लामो दूरीमा संचालन हुने सवारीको पनि प्रदूषण मापन गर्ने उनले बताए। यात्रुबाहक सवारी बाहेक पानी र फोहोर बोक्ने सवारीको पनि प्रदूषण परीक्षण गरिने उनले बताए। ‘स्थानीयतहका सवारीमा बढि समस्या देखिएको हो। लामो दूरीमा पनि उत्तिकै समस्या छ,’ उनले भने।  

ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले अहिलेसम्म प्रदूषण गर्ने सवारीलाई नियन्त्रणमा लिएर कागजातसहित यातायात व्यवस्था कार्यालयलाई बुझाउने गरेको बताए। अहिलेसम्म कारवाहिको अधिकार यातायात व्यवस्था कार्यालयलाई मात्र रहेको उनले बताए। ‘बढि प्रदूषण गरेको देखिएका सवारीलाई नियन्त्रणमा लिएर कागजात सहित यातायात व्यवस्था कार्यालयलाई हामीले बुझाउँछौ। कारवाहिको अधिकार ट्राफिक प्रहरीलाई छैन,’ उनले भने, ‘पोखरामा सवारी साधनले उत्सर्जन गरेको प्रदूषण डरलाग्दो छ। बाटोमा खटिएको ट्राफिक प्रहरीलाई पनि उत्तिकै चूनौती छ।’

प्रकाशित: २५ श्रावण २०८३ १८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App