१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

फूलखेतीले रंगीन बनेको सीतारामको दैनिकी

कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उनका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ ।  

विसं २०७४ देखि फूलखेती सुरु गरेका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरु ढकमक्क फुलेका छन् । ‘एक लाख लागतमा फूलखेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ,’ उनले भने ।  

फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित छन् । तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् । ‘फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन’, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउदै उनले भने, ‘प्रतिमाला रु १३० र प्रतिकिलो रु ६०० को दरले बिक्री गरिरहेका छौँ।’  

सयपत्री र मखमली फुलबाट एउटा याममा रु ४ लाख बढी आम्दानी हुने गरेको उनले बताए । एउटा बोटबाट चारवटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लगेका छन् ।  

उनले भने, ‘धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।’  

दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूलखेती गर्दै आएका छन् । सजावटमा प्रयोग हुने कट फ्लावर ( तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उनले लगाएका छन् । फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिन्छन् । उनका अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।  

फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगार समेत दिने गरेको सीतारामले बताए । कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उनको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उनलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उनको प्रयासको मूल्य सबैले देखे ।  

‘अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन्’, सीताराम भन्छन् । उनको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु पनि हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उनी छन् । ‘अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्’, उनले भने, ‘फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन । आर्थिक रुपमा बलियो समेत बनाएको छ ।’ रासस

प्रकाशित: ३ कार्तिक २०८२ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App