२ पुस २०८२ बुधबार
image/svg+xml
समाज

वस्तुभाउबाट कक्षाकोठा जोगाउन विद्यालयमा घेराबारा

षडानन्द नगरपालिका-१० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ।

एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरूले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहज भएको हो।

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउँदा पठनपाठनमा असहज भइरहेको बेला घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्ले बताए।

मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उनको भनाइ छ। नजिकै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरू प्रवेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उनको भनाइ छ।

“विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो” उनले भने,“विद्यालयको चौरमा गाईवस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो। विद्यालयमा अनावश्यक मानिसहरूको प्रवेश हुँदा शिक्षण सिकाइमा असर पुगेको थियो। घेराबारा भएपछि विद्यालयको भौतिक सम्पतिको सुरक्षासँगै पठनपाठनमा सहजता छ।”

घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले दुई लाख रूपैयाँ बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए।

विद्यालयसँगै विद्यार्थीको सुरक्षाका लागि अन्य काम थाती राखेर विद्यालयको घेराबारा गरिएको उनकाे भनाइ छ। “वडामा सीमित बजेट हुन्छ” वडाध्यक्ष शेर्पाले भने, “स्थानीयको माग धेरै छ। घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य काम थाती राखेर यो काम गरेका हौं। घेराबारा गरिएपछि विद्यालय सञ्चालनमा सहजता छ।”

वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका काम अघि बढाएको उनको भनाइ छ। वडाको काममा पारदर्शिता ल्याउन वर्षभरि सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजनालाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाइ मार्फत जानकारी दिंदै आएको उनको भनाइ छ।

प्रकाशित: २६ असार २०८२ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App