माइतीघर मण्डलामा शिल्पी थिएटरले ‘कोठा खालि छ’ नाटक प्रदर्शन गरेको छ।
शुक्रबार मध्यान्ह प्रदर्शन गरेको उक्त नाटकमा सहर भरी घरै–घर भएर पनि दलित समुदायले जात सोधेर मात्र कोठा दिने प्रवृत्ति उजागर गरेको छ।
नाटक मार्फत सहर भरी कोठा खालि भएका विज्ञापन हुने, कोठा खोज्ने कार्यालय हुने तर जातीय विभेदको कारण जात र थर सोधेपछि कोठा निश्चित गर्ने प्रवृत्तिले सहर पनि दलित समुदायको लागि अमानवीय बनेको तिखो व्यङ्ग प्रहार गरिएको छ।
नाटकमा कोठा खोज्दै हिँडेका पात्रलाई सबै घरबेटी र कार्यालयले समेत जात थर सोधेपछि निषेध गर्ने प्रवृत्तिले अन्तिममा कोठा नै नपाएर खुल्ला आकाश मुनि बाध्य हुन्छन्। त्यति मात्र नभएर घरबेटीको अस्वीकारको कारण आक्रान्त बनेका दलित युवा सहरबाटै लखेटिन्छन्। भविष्य खोज्न सहर पुगेका युवा सहरमा हुने जातीय विभेदले अन्योलमा पर्छन्।
शिल्पी थिएटरले ४१ दिनदेखि माइतीघरमा ‘सरकार कोठा खालि छ ’ अभियान स्वरूप धर्ना दिइरहेकी दीपा नेपालीको समूहको प्रदर्शन अघि नै उक्त नाटक प्रदर्शन गरेको हो।
थिएटरका युवाराज घिमिरेले सहरमा विद्यमान जातीय विभेदको कारण दलित समुदाय माथि भइरहेको अमानवीय व्यवहारको पक्षको स्थिति प्रदर्शन गरेको बताए।
‘राजधानीमा थुप्रै दलित समुदायले जातकै कारण कोठा नपाउने जुन समस्या छ, त्यो गम्भीर छ, यो अन्त्य हुनु पर्छ,’ उनले भने।
प्रकाशित: १५ जेष्ठ २०८३ १६:१७ शुक्रबार





