दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन्। वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठाला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन्।
जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठाला दसैँको पहिलो दिन घटस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन्। महिनौँ लेकमा बसेका गोठाला परिवारसँग भेट्ने आशा बोकेर बेसी झरिरहेका छन्। बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिन्छन्।
गोठाला ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्छन्। ती क्षेत्र समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ। पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध छन्। चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ।
महिनौँ परिवारसँग टाढिएका उनीहरू अब आगामी जेठ महिनासम्म सँगै हुनेछन्। एकै परिवारले दुई सयदेखि एक हजारसम्म भेडा पाल्दै आएका छन्। गोठाला हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन्।
यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन्। यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठाला बेसी झरेर बजारतिर लाग्छन्। बेसी झरेका गोठाला अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ हिँडेर भेडाबाख्रा बेच्न जान्छन्। दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन्। निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताए। आफ्ना दुई सयभन्दा बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पु¥याउन समस्या हुने गरेको उनको भनाइ छ। चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाए।
उनले भने, ‘हाम्रा बाउबाजेले यही पेशा गरे, हामीले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रा छोरानाति भेडा गोठाला बन्न चाहँदैनन्, उनीहरू पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्र होइन हामी हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ।’
वर्खाभरि पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्य राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्छन्। बेसी झरिसकेका गोठालाले बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन्। गोठाला भेडा बेच्नका लागि कोही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छन् भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन्। ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताए।
आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरेक वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उनको भनाइ छ। ‘म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०/४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अलि पछाडि हुँदा असोज २०/२२ तिर झर्थ्यो अहिले त अलि छिटै प¥यो,’ उनले भने, ‘असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्न गाह्रो हुन्छ, नजिक छैन लेक त्यसैले खर्चपर्च एकैपटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ।’
लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ। जसले दसैँको माहोल बढाएको छ। निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारिसकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताए। गाई लिनका लागि एक जना आफन्तलाई लेक पठाएको उनको भनाइ छ। गाई १३ गतेसम्म बेसी झारिसक्ने घर्तीले सुनाए। रासस
प्रकाशित: ८ आश्विन २०८२ ०६:३७ बुधबार




