१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्वार्ता

लोकप्रियतावादी तानासाही नेपालमा चल्दैन

प्राध्यापक लोकराज बरालले भारतका लागि नेपाली राजदूतका रूपमा भूमिका निर्वाह गरिसकेका छन्। राजनीतिक विश्लेषकका रूपमा उनका टिप्पणी र अन्तर्वार्ता सञ्चार माध्यममा नियमित देखिन्छन्। गत भदौ २३ को जेनजी आन्दोलन र त्यसको आडमा भएको तोडफोड, आगजनी र ध्वंसको पृष्ठभूमिमा यही २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। नागरिक फ्रन्टलाइनको बुधबारको अंकमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग प्राध्यापक बरालले लामो कुराकानी गरेका छन्। प्रस्तुत छ– निर्वाचनका निम्ति मुलुकको तयारी, दलहरूको अवस्था, मतदाताको रुझानलगायतका विषयमा बरालसँग गरिएको संवादको सम्पादित अंश।

मतदान आउन केही दिन मात्रै बाँकी छ। यो अन्तिम अवस्था कस्तो पाइराख्नु भएको छ?

यसको पनि विभिन्न चरण हुँदो रहेछ। पहिले निर्वाचन नै हुँदैन कि भन्ने आशंका थियो। अहिले अलि नकारात्मक मान्छेहरूले सामाजिक सञ्जालमा हल्ला गरेको देखिन्छन्। तर पक्कै निर्वाचन हुन्छ। पूर्वका दुई चार वटा जिल्ला घुमेर आएको थिए। झापा, मोरङ र सुनसरीका केही मान्छेहरूसँग कुरा गर्दा एक थरी मतदाता लहलहैमा लागेका छन्। अर्का थरी मतदाताले जसलाई दिए पनि त्यस्तै त हो भन्ने गरेका छन्। एक थरी अलिकति उत्साहित भएका पार्टीहरू पनि छन्। यो खालको मिश्रित अवस्था देखेको छु। यसकारण तस्बिर अहिले नै यसै हो भन्न सकिँदैन तर मोटामोटी रूपमा हेर्दा तीन÷चार वटा पार्टीबिचमा प्रतिस्पर्धा हुने देखिन्छ।

कसैको व्यापक हावा चलेको छ। त्यो हावा र मान्छेको भिड भोलि भोटमा रूपान्तरण कति हुन्छ? किनभने भारत विहारको राज्यसभा चुनावअगाडि देखिएको त्यत्रो भिड पछाडि भोटमा सबै उल्टो भइदियो। त्यस्तो पनि हुँदो रहेछ।

सबैतिर चुनाव हुने ढुक्क अवस्थामा आयो?

चुनाव नहुने भन्ने लाग्दैन। नहुने भन्ने कुनै आधार देखिँदैन। एक थरी नभइदियोस् भन्ने पनि छन्। कसैलाई हार्छु भन्ने डर पनि होला। कसैको अरू नै मक्सद होला। त्यस्तोबाहेक अरू केही देखिँदैन।

चुनावअगाडि नै सहमति गर्नुपर्छ अनि चुनाव गर्नुपर्छ भन्ने कुरा पनि आयो।

त्योचाहिँ विडम्बनाको कुरा हो। त्यस्तो भन्ने मान्छेले चुनाव घोषणा हुनेबित्तिकै भोलिपल्टै वक्तव्य दिएको भए हामी पनि वाहवाह भन्थ्यौं। चुनावपछाडि जसको सरकार बने पनि अगाडि नै निश्चित राष्ट्रिय मुद्दामा सहमति गरौं भन्दै आएको थिएँ। मान्छेहरू लेख पढ्छन्, कसैले वास्ता गर्दैनन् । यत्रो परिवर्तन भएको छ। त्यो परिवर्तनका अजेन्डाहरू के हुन सक्छन्, कति ग्राह्य हुन सक्छन्, कति सम्भव छन्। संविधान संशोधनका कुरा, विकासका कुराहरू छन्। अहिले एक जना ज्ञानेन्द्र शाह (पूर्वराजा) ले यसो भने भनेर केकेन भयो जस्तो छ। त्यस्तो भन्ने उहाँलाई वास्तवमा यति बेला त्यो छुट पनि नहुनु हुने हो। चुनावको सँघारमा आएर चुनाव बिथोल्ने जस्तो कुरा भयो।

शान्ति सुरक्षाको अवस्था कस्तो देखिराख्नुभएको छ?

चुनावमा कहिलेकाहीं दंगा हुन्छ। भोट ‘क्याप्चरिङ’ हुन्छ। त्यसलाई एकदम उछाल्नु आवश्यक छैन।  हाम्रो सानो देशमा कुनै एक ठाउँमा घटेको घटना ‘ब्लोअप’ भएर त्यसले राष्ट्रिय स्तरको परिवर्तन गराउन पनि सघाउ गरेको छ। ठुलो घटना हुनु नै पर्दैन। सानो कुरा कसैले बोल्दैमा मात्रै हंगामा हुने गर्छ। फेरि अहिले सामाजिक मिडियाको जगजगी पनि छ। अरू मिडियाहरू पनि उत्तरदायिपूर्ण ढंगले बोल्दैनन्। अहिलेको अवस्थामा सबैले योगदान पुर्‍याउनुपर्ने, त्यो बाटोमा संगालेर लानुपर्ने बेला हो नि। त्यसकारणले चुनावमा सानो कुराले अवरोध हुन्छ भने यो मुलुकको भविष्य छैन। यस्तो कुरा त राज्यमा आइरहन्छ।

७६/७७ जना मान्छे मर्दा त भोलिपर्सि पछि बाटै सामान्य अवस्थामा आज हामी यहाँ पुगिरहेका छौं। यस्ता कुरालाई समेट्ने नेपाली समाजको त्यो तागत छ। अरू अरू मुलुकमा के हुन्थ्यो ? कति दंगा अझ त्यसपछाडि हुन्थे तर त्यस्तो केही भएन। त्यसरी मान्छे मरे, धेरै नराम्रो,  इतिहासमै नभएको कुरा भइदियो। त्यो अर्कै कुरा हो। त्यही पनि त मुलुक सामान्य रूपमा अगाडि बढिरहेको छ। यो सकारात्मक कुरा हो। त्यसकारण चुनाव पनि अगाडि बढ्ने बाटामा छ। भएको व्यवस्थालाई अझ सुदृढ गर्ने कुरामा छ। समस्या त जहाँ पनि आउँछ। मान्छेको जीवनमा त दिनैपिच्छे समस्या आउँछन्। देशमा झन् कुरै भएन। सरकारले गर्न सकेन भन्ने झगडा होला, नारा जुलुस होला। त्यो त भइरहन्छ जहिले पनि। त्यो व्यवस्थापन गर्ने सरकारसँग क्षमता हुनुपर्‍यो। त्यसकारणले म चाहिँ आश्वस्त छु।

तपाईं राजनीतिक रूपमा सचेत विश्लेषक हुनुहुन्छ। विश्वविद्यालयको प्राध्यापक हुनुभयो। दैनिक लेखिराख्नुहुन्छ। २०१५ सालदेखिकै चुनाव हेर्दै आइरहनुभएको छ। यस हिसाबले विगतका चुनावभन्दा यो के अर्थमा फरक छ?

मैले १५ सालदेखिको चुनाव हेरेको छु। आइए पढ्न आउँदा मैले भोट हाल्न पाइनँ। म इलाममा थिएँ। धेरै चुनाव हेरेँ। पञ्चायतका चुनाव हेरेँ। जनमन संग्रहको चुनाव पनि ठुलै चुनाव हो। त्यसपछाडि ४६ सालपछि पनि थुप्रै चुनाव भए। नेपाली जनता धेरै परिपक्वजस्तो लाग्छ। संवेदनशील, शालीनजस्तो लाग्छ। उग्र, ठुल्ठुला कुरा गर्छौं। अलिकति भावुक पनि हुन्छौं। सानो कुरालाई ठुलो पारेर हेर्छौ। तर समग्रमा समाजमा जनता धेरै राम्रा छन्। ५ प्रतिशत भोट खेर जाने कुराबाहेक नेपाली जनताले जहिले पनि यो प्रक्रिया र प्रणालीलाई साथ दिएका छन्।

यसपालि धेरै फरक छ। एउटा त परिस्थिति र समय पनि फरक छ। जनतामा चेतना पनि फरक छ। पार्टीको अभियान गर्ने शैली अनि निर्वाचन आयोगले गरेको काम पनि ठिक छ। यसपालि कहीं पोस्टर छैन, अभियान,  हल्ला खल्ला, माइकिङ केही छैन। एकअर्कामा हिलो छाप्ने, गालीगलौज केही छैन। कोही ठाउँमा घोचपेचजस्तो देखिए पनि संयमित देख्छु। त्यो पनि नयाँपन नै भयो। बिस्तारै चेतना आएको छ। ट्रम्पजस्ता मान्छेले अमेरिकामा जिते। त्यसैले चुनावमा यस्तै हुन्छ भन्ने हुँदैन। कहिलेकाहीं चलखेल पनि हुन्छ। जस्तो, इन्डियाकै विहार, हरियाणा, महाराष्ट्रमा ती कुरा उठेको हुन्छ।

हामी लोकतन्त्रको स्थायित्वतिर जाँदै छौं?

त्यसको विकल्प छैन। अधिनायकवाद हुँदैन। एकदलीय तानासाही त नेपालमा हुँदै हुँदैन। कम्युनिजम त यहाँ हुँदैहुँदैन। यहाँको भूराजनीतिले दिँदैन। त्यो पनि सबैले बुझेको कुरा छ। हाम्रो सम्पूर्ण अभिमुखीकरण   सात सालको कान्तिभन्दा पहिलेदेखि उदार लोकतन्त्रमा भयो। मैले त पुष्पलाल श्रेष्ठजीलाई पनि धेरै पटक भेटेको छु। उहाँहरूजस्तो गणतन्त्रका कुरा गर्नेहरूले पनि १५ सालमै चुनावमा भाग लिनुभएको थियो। मदन भण्डारीले बहुदलीय जनवाद धेरै पछि आयो। पुष्पलालहरूले त १५ सालमा भाग लिएर चार स्थान जितेका हुन्। कम्युनिस्ट पार्टीले त्यति बेलै बहुदलीय व्यवस्था मानेको हो। त्यसलाई म राजनीतिक एकीकरण भन्छु। गणतन्त्रवादी हुन, राजावादी हुन, फलानोवादी हुन र चरमपन्थी भएर यसलाई समाप्त गर्न पाइँदैन। संसारमा त्यसलाई कहीं पनि छुट छैन। यो व्यवस्थाअन्तर्गत अभ्यास गर्न त पाइयो।

पहिलाको तुलनामा चुनाव अहिले कम खर्चिलो हुन थालेको हो?

कम खर्चिलो, कम पोस्टरिङ, कम अभियान छ। पैसाको खोलो बग्यो भन्ने खालको देखिँदैन। अहिलेसम्म थाहा छैन। त्यो सुनेको छैन। मैले पनि अस्ति चुनाव अभियान हेरेर आएँ, त्यो कतै देख्दिनँ।

जेनजी आन्दोलनपछाडि यो सरकार बन्यो। त्यही जनादेशअनुसार अहिले चुनाव हुँदै छ। त्यतिखेरको जनादेश र अहिलेको चुनावका कुराहरू मिलेका छन्?

कुरा मिलेको छैन। तर शीर्ष दलका अजेन्डामा युवालाई पनि अगाडि बढाउनुपर्छ, समावेश गर्नुपर्छ भन्ने कुरा मिलेको छ। पहिलो दिन भदौ २३ गते जेनजीको भनाइ के थियो र? केही थिएन। सोसल मिडियामाथिको प्रतिबन्धविरुद्ध हंगामा भयो। त्यसका लागि उभिएका थिए। पछाडि भ्रष्टाचार पनि थपियो। त्योबाहेक त अजेन्डा थिएन। पछि नै थपियो। अनि गणतन्त्रका कुरा आए। प्रत्यक्ष निर्वाचन गर्ने, राष्ट्रपति बनाउने कि प्रधानमन्त्री, यस्ता कति आए कति। ती अजेन्डा त अहिले केही छैनन्।

निर्वाचनपछाडिको राजनीतिक स्थिति कस्तो होला भन्ने आँकलन गर्नुहुन्छ?

अजेन्डाहरू थुप्रो आएका छन्। घोषणापत्रमा पनि छन्। त्यसमा अब संविधान संशोधन गर्ने समस्या आउँछ। त्यसमा सबैले मानिदिनुपर्छ। दुईतिहाइले मानिदिनुपर्‍यो। सहमतिका विन्दुहरू बनाउनुपर्‍यो। मधेसको अजेन्डा छ। युवा, शिक्षा, रोजगार हरेक कुरा छन्। मूलभूत रूपमा कुन खालको चुनाव प्रणाली, कुन खालको सरकार, प्रत्यक्ष निर्वाचित - त्यो पनि एउटा अजेन्डा हो। तर त्यति शक्तिशाली होइन। म त त्यसको समर्थक होइन। प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने मुलुकमा झन् अधिनायकवाद आउँछ। भावुक जनता छन्, भोलिपल्टै फालिदिन्छन्। ल्याटिन अमेरिकामा धेरै देखिसकियो। यस्तो खालको व्यवस्था चल्दैन।

अहिले अमेरिकाको हालत हेर्नुस्। सर्वोच्च अदालतले आदेश गर्छ, राष्ट्रपतिले मान्दैन । अहिले अमेरिकामा अधिनायकवाद नै छ भन्छन्। हार्वर्डको प्रोफेसरले लेखेको पढ्दै थिएँ - अधिनायकवादतिर मुलुक गइरहेको छ भन्छन्। भारतमा मोदीका बारेमा पनि त्यस्तै छ। त्यो खालको अवस्था हाम्रोमा छैन।

अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत पुग्दैन भन्ने अनुमान गरिन्छ। यो किन?

यो समानुपातिकले गर्दा हो। भोलि अलग परिस्थिति भइदियो भने पुग्ला। नभए कुनै न कुनै पार्टीसँग मिल्नैपर्छ। मिलीजुली बन्ने सरकार, त्यसको स्थायित्वको कुरा त भारतमा पनि देखियो। १० वर्ष मनमोहन सिंहले चलाइदिए। दुईतिहाइ पाएका ओली (केपी शर्मा ओली) जी र प्रचण्ड (पुष्पकमल दाहाल) जीहरूले आफ्नै बहुमत बचाउनुभएन। गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) ले आफ्नै बहुमत जोगाउन सक्नुभएन। कृष्णप्रसाद भट्टराईलाई फेरि जिताउन भनेर ल्याए, त्यो पनि भएन। गठबन्धन संस्कृति बनाउने पनि कला रहेछ।

नकारात्मक गठबन्धन हुनुभएन। स्वार्थ केन्द्रित हुनुभएन। आज नेता बिग्रेका किन ? दिक्क लाग्ने कुरा– राति १२ बजे गठबन्धन गर्न दुई नेता बस्ने। तलको मान्छेलाई थाहा छैन, केन्द्रीय कमिटीलाई पनि थाहा छैन। तपाईं प्रधानमन्त्री हुने यति, म चुनावको बेला -पाँच/छ पल्ट भइसकेका शेरबहादुर देउवा, तीन/चार पटक भएका ओलीजी, बिचमा कहिलेकाहीं प्रचण्ड पनि तीन पल्ट भइसके। उनीहरूकै कारण आज मान्छेमा ठुलो आक्रोश उत्पन्न भएको हो नि। उनीहरूले तल्लो तहमा न त छलफल गराए। सात वटा बुँदा भनेर पास गरे, एउटा पनि पूरा भएन। त्यसले मिलीजुली सरकार चलाउने संस्कार नभए लोकतन्त्र चल्दैन।

आफैंले पाँच वर्ष सरकार चलाउन नसक्नेले विदेशीका कारण सरकार ढलेको आरोप लगाउँछन् नि?

विदेशीको चलखेल हुँदैन भन्ने हुँदैन। यस्तो खुला समाज र हाम्रोजस्तो मुलुक नहुने होइन। आफूमा त्यो क्षमता हुनुपर्‍यो। चाणक्य, म्याक्बेली, एरिस्टोटल भन्नुस्– उहिलेदेखि नै यो नेताहरूलाई अप्ठ्यारो परे विदेशीलाई देखाइदिनु भनेका छन्। हाम्रो सम्पूर्ण सिद्धान्तमा पनि हामीले पढेकै हो। आफ्नो यहाँ काम गराइ केही छैन। भारतले यसो गरिदियो, अमेरिकाले उसो गर्‍यो, चाइनाले यसो गर्‍यो भन्न थालिहाल्छौं। अहिले पनि भनिरहेका छन्।

जेनजी विद्रोहपछाडि दलहरू सुध्रेको जस्तो लाग्यो?

नेपाली कांग्रेस सुध्रिने थिएन– देउवा (शेरबहादुर देउवा) जी ओलीजस्तै गएको भए । नेपाली कांग्रेसको बेहाल हुन्थ्यो। अहिले ओलीजीमा अलि विक्षिप्तता छ। विद्यार्थीहरू एमालेलाई भोट किन दिनु भन्छन्। ओलीजीले जतिसुकै आफूलाई प्रतिरक्षा गरे पनि भोलि कति साँचो कति झुटो कुरा प्रमाणित होला तर उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। गृहमन्त्री कांग्रेसको थियो। आखिरी त्यो दाग त लागेको छ। त्यो भोलि स्पष्ट होला नहोला, अर्को कुरा हो।

गगन थापाले खतरा नलिएर त्यतिको नेतृत्व नदेखाएको भए नेपाली कांग्रेस त्यति पनि हुने थिएन। खतरा नभए त राजनीति चल्दैन । जसले खतरा मोल्छ, त्यही नेता हुन्छ। नेता भनेको नेता हो। नेतृत्व गर्ने हो। जनतालाई सम्झाएर गराएर आफ्नो पक्षमा पार्ने हो। तयार पार्ने हो। गगन थापालाई मन पराउनु नपराउनु एउटा कुरा हो। म त मन पराउँछु। उसका आलोचक मान्छेहरू पनि आखिर गगन थापा एउटा लिडर त रहेछ भनेका छन् । उसले आफूलाई स्थापित गरेर सन्देश दिएको छ।

केपी शर्मा ओली, गगन थापा, पुष्पकमल दाहाल, माधव नेपाल, रवि लामिछाने, बालेन्द्र शाह, राजेन्द्र लिङ्देन, उपेन्द्र यादवलगायत केही शीर्ष नेताहरूको स्थिति कस्तो पाउनुभएको छ?

यो छरिएको छ। स्पष्ट भन्न सकिँदैन। जस्तो नयाँ नेताहरूमा रवि लामिछानेजी टेलिभिजनको एउटा कार्यक्रम चलाएर आउनुभएको छ। उहाँले आफूलाई कति स्थापित गर्न सक्नुहुन्छ। अहिले लहर चलेको छ। समुद्रको छाल आउँछ, फेरि जान्छ। त्यो खस्केर पनि जान सक्छ। प्रचण्डजी जस्तो ३५ वर्ष त्यत्रो १० वर्ष जनयुद्ध चलाउने सानो नेता होइन नि। नेपालको सेनासँग पनि लडेर बराबरको तहमा पुर्‍याएर आएको हो । आज उहाँको अवस्था कहाँ छ? माओवादी नै छोडेर नेपाली कम्युनिस्ट पार्टी बनाउनुभयो। त्यो शब्दै छोड्नुभयो। अब उहाँ कुन स्थितिमा आउनुहुन्छ भन्न सकिँदैन। उहाँको केही पकट त होला।

राजनीतिमा पार्टी बनाएर मात्रै हुँदैन, टिकाउ कति हुन्छ? यही चुनावमा एक÷दुई नेताले हारेपछि निराश भएर मान्छेहरू छुट्न पनि सक्छन्। त्यसकारण उहाँहरूको पनि पार्टीको स्थायित्वका लागि परीक्षण आउँदै छ। यसपालि लहर आए पनि त्यसलाई कति कायम गर्न सक्नुहुन्छ?

नेपाली कांग्रेस त पुरानै पार्टी भयो। त्यसले रूपान्तरण गरेको हुनाले जनतामा अलिकति विश्वास जागेको छ। ती नेता भोलि कसरी खारिन्छन्? पार्टीमा सकारात्मक बुँदा छ। अनि अर्को अजेन्डा पनि उनीहरूले बुझेका छन्। एमालेको अलिकति समस्या छ। ओलीजीले अलि विस्तारित कसरी गर्न सक्नुहुन्छ। यो चुनावले त्यो पनि निर्णय गर्छ। उहाँले हार्नुभयो भने पनि अलिकति बाटो बनाइदिनै पर्‍यो। नयाँ को हुन् थाहा छैन। कति खरिएर आउँछन्? होइन, जित्नुभयो भने पनि उहाँले आफ्नो पार्टीलाई कसरी अगाडि बढाउनुहुन्छ। आखिरी पुरानो मात्रै भनेर तिरस्कार गर्न त मिल्दैन। यिनीहरूले संघर्ष गरेर त आएका हुन्। सिद्धान्त, व्यवस्था, गणतन्त्र, लोकतन्त्रप्रति प्रतिबद्ध भएर आएका छन्। चुनावमा भाग लिएका छन्।

मधेसवादीहरू एकदम विभाजित छन्। सिके राउत, उपेन्द्र यादव, महन्थ ठाकुरको कोको मिलेर फेरि पार्टी बनाएर कोसिस गर्दै छन्। त्यो लहरलाई उनले रोक्नै सकेनन्। आखिर गगन थापाले गएर मधेसमा जोगाएका छन्। उपेन्द्र यादव आफै खस्केर गए। थारुहरू थिए, ती कुर्सीका लागि आफैं झगडा गरेर गए। त्यसकारण मैले भन्ने गरेको छु -  नेता ठिक भए सबै ठिक हुन्छ। जवाहरलाल नेहरु, सरदार पटेल, राजेन्द्र प्रसाद, अम्बेकरहरू नभएको भए भारतको लोकतन्त्रको जग बस्ने थियो? यो मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) जस्ताले बसाउँथे? यिनीहरूले त विभाजन गरिरहेका छन्। मुलुकलाई धु्रवीकरण गरेका छन्।

बालेन्द्र शाहको उदयलाई कसरी हेर्नुभएको छ?

यो ‘एक्सिडेन्टल’ (अस्वाभाविक) हो। एउटा यस्तो लहर पनि आउँदो रहेछ। जस्तो युक्रेनमा कमेडियन जेलेन्स्की (राष्ट्रपति भोलोदिमिर जेलेन्स्की) खालको सोचाइ हो। हामी विद्यार्थी हुँदा हामीलाई जेल लगिएको छ। त्यो संघर्षबाट र हन्डर खाएर आएका हुन् हाम्रा नेताहरू तर अहिलेको बालेन भन्नु, फलानो भन्नु, रवि लामिछाने यिनीहरू त्योबाट आएका होइनन्। यिनीहरू एकैचोटि फुत्त उफ्रेका हुन्। त्यो कति टिक्छ, त्यसमा भर पर्छ। त्यसकारण अहिले जिते भने पनि पाँच÷सात महिना, एक वर्षमा उहाँहरूले काम गरे र जनतालाई खुसी पारे टिक्नुहोला। कति सजिलो छ, छैन त्यो भोलि देखाउला।

हामी त स्कुल पढ्दा, कलेज पढ्दा नै धेरै जान्ने भइसकेका थियौं। राजनीतिक क्षितिज भिन्न थियो। दलसँग आबद्ध थिए। लोकतन्त्र र स्वतन्त्रताप्रतिको लगाव थियो। वैचारिक हिसाबले कोही कम्युनिस्ट भए, कोही प्रजातन्त्रवादी भए। त्यसरी हाम्रो मूल्यमान्यता बनेको छ। कसैले नबोलाए किन जाने भन्नेमै भन्छु। नबोलाईकन फलानो नेतालाई भेट्न किन जाने? उहाँले कुनै दिन बोलाउनु हुन्न। मेरै विद्यार्थी सबै नेता छन्। शेरबहादुरजी ६ पटक प्रधानमन्त्री भए, एक दिन बोलाएनन्। एक दिन मेरो घरमा चिया खानसम्म आउनुभएन। मलाई बोलाएको भए अब म गइहाल्थेँ। मलाई के लिनुदिनु छ? म प्रोफेसर मान्छे हो। कुनै दिन छलफल गर्नुभएन। म भनिदिथेँ देखेको कुरा।

तपाईंलाई अहिले सार्वजनिक गरिदिन्छु। पोहोर एक दिन हामीलाई मेरियट होटलमा तत्कालीन गृहमन्त्री रमेश लेखकले बोलाउनुभयो। आठ/दश जना थियौं। घण्टौं त्यहाँ छलफल चल्यो। त्यति बेला बिचरा उहाँ सुनिरहनुभयो। सबैले आलोचनात्मक रूपमा भन्दै गए।

मैले भनेँ - तपार्ईंहरूका विरुद्धमा आन्दोलन हुन्छ। तपाईंहरू फालिनुहुन्छ। मलाई जेनजी भन्ने दिमागमा थिएन। त्यति बेला मैले सुनेको पनि थिइनँ। यस्तो आन्दोलन हुन्छ कति बेला हुन्छ भन्न सकिँदैन भनेको थिएँ। उहाँले केही भन्नुभएन। मैले सुनेको भोलि पल्ट प्रधानमन्त्रीलाई हामीसँग भेटेको कुरा भन्नुभयो रे। हामीलाई एक शब्द भन्नुभएको थियो– उहाँ धेरै ढुक्क (कन्फिडेन्ट) हुनुहुन्छ। ‘अति दृढता (ओभर कन्फिडेन्ट) हुनु पनि हुँदैन,’ भने मैलेँ। समाजमा यस्तो अन्दाज त हामीलाई हुन्छ नि त।

नेपालमा किन स्थायित्व हुन सकेन? एउटा देशजस्तो हुन किन सकेन?

दुई÷तीन वटा कारण छन्। एउटा त हाम्रो राजनीतिक संस्कृति नै अधिनायकवादी रूपमा सयौं वर्षदेखि आएको हो। पहिले शाह आए, राणा आए, फेरि शाह आए। जयजयकारको संस्कृति, चाकडी, चुक्ली गर्ने र फलानो षड्यन्त्रकारी हो भन्ने भयो। अब केही राजनीतिक शक्तिहरू भए। डेमोक्रेसीको हामीले अभ्यासै गर्न पाएनौं। संविधानसभाको भन्दा आफैं सक्रिय हुने बाटोमा गए। दलको झगडाले राणाहरूलाई पनि ल्याएर सहमतिमा हालिदिए। भारतका नेहरूको उद्देश्य राम्रै थियो। त्यो पनि परम्परागत शक्ति हो। तिनीहरूको पनि सहयोग चाहिन्छ, भोलि स्थायित्वका साथ अगाडि बढ्न। त्यसलाई बेवास्ता गर्नुहुँदैन भनेर ल्याएर मिलाएको त हो तर नौ महिनामा त्यो सरकार भत्किएपछि दलहरू तितरबितर भए। धेरै त व्यक्तिको कारण पनि हो। २०१७ पुस १ गतेले गणतन्त्रको बीजारोपण गरिदियो। भलै धेरै वर्ष लाग्यो, मुलुकमा गणतन्त्र आउन।

नेपालमा आन्दोलन अपर्झट हुन्छ, स्थायित्व चाहिँ खतम हुन्छ। त्यो आन्दोलनको उपलब्धिलाई हामी दिगो बनाउन सक्दैनौं। धन्न श्रेय दिनुपर्छ नेपाली जनतालाई, दुई पल्ट संविधानसभामा असफल भएर पनि हामीले संविधान ल्याएरै छोड्यौं। राम्रै ल्याएका छौं। अब यसलाई सुधार गर्नुपर्छ। अब अहिले हेर्दा सरकारमा यताउता भए पनि प्रणालीप्रति त्यस्तो अधिनायकवादी तानासाह आउँछ भन्ने लाग्दैन। यहीं भित्रबाट हुन्छ। लोकप्रियतावादले तानासाही ल्याए पनि त्यो नेपालमा चल्दैन।

नेपाललाई कुनै बाह्य खतरा छैन। तपाईं हाम्रो आन्तरिक अवस्था बिग्रियो भने उनीहरूले खेल्ने ठाउँ हो। हाम्रो सम्बन्ध पनि भारत र चीनको संवेदनशीलतालाई पनि बुझिदिनुपर्छ। यहाँ तिनका विरुद्धको खेलमा लाग्नुभएन। हामीले फ्रेमबर्क बनाउनुपर्छ।  

नेपाल बन्छ भन्नेमा आशावादी हुनुहुन्छ?

देश भ्रमण गरेँ। सबैतिर जाँदा धेरै ठुलो रूपान्तरण भएको छ। स्कुल, कलेज विद्यालय खुलेका छन्। कति ठाउँमा बत्ती पुगेको छैन। त्यो त बिस्तारै हुन्छ। त्यस कारण म धेरै सकारात्मक छु। खाली राजनीतिक नेता ठिक हुनुपर्‍यो। अरू केही होइन। यो देश एकदम राम्रो छ। कसैको केही छैन यहाँ। हामीले भूराजनीतिको अनावश्यक कथन बनाउने मात्रै हो। संसारै भूराजनीति हो। अमेरिकाको भूराजनीति छैन? उसको सबै छ। पहिलेको ढर्रा फरक थियो। अलिकति बुझेर वस्तुगत रूपमा के रहेछ हाम्रो अवस्था? कुन अवस्थामा छौं भन्ने बुझेर नेता चलिदिनुभयो भने केही समस्यै छैन।

प्रकाशित: १६ फाल्गुन २०८२ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App