१) मुक्तक
तिमी मासु म हाड चर्म भएर त बाँचेका छौँ
तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौँ
यौटै रथका दुई पाङ्ग्रा वा सिक्काका दुई पाटा
यौटा ज्याला अर्को पर्म भएर त बाँचेका छौँ।
२) मुक्तक
स्कुल नगै बाटैबाट फिर्दा पनि मजा भो रे
लेख्ने सीप नै नभै कलम भिर्दा पनि मजा भो रे
मूर्खका नि मजा लिने नौला विधि हुने रैछन्
नपढी नै संसदभित्र छिर्दा पनि मजा भो रे।
३) मुक्तक
गर्नैपर्ने काम पनि करै लाग्न छोड्यो अचेल
आफ्नै अङ्गप्रत्यङ्गको भरै लाग्न छोड्यो अचेल
उमेर मात्रै बढेको कि साहस पनि बढ्यो मेरो
आर्यघाटले बाटो कुर्दा डरै लाग्न छोड्यो अचेल।
४) मुक्तक
कुरा काट्ने काटिरहून् बुझेपछि आफैं छोड्छन्
सत्य ढाँट्ने ढाँटिरहून् सुझेपछि आफैं छोड्छन्
बिनाकारण वैरभाव राख्नेलाई राख्न दिऊँ
ग्लानि अश्रुबाट शरीर रुझेपछि आफैं छोड्छन्।
५) मुक्तक
हलेसीका महादेवले खै कसरी रक्षा गरे
दिनैभरि न्यासध्यान गरेँ खाने सामल छैन भरे
पेटै पाल्न धौधौ भाछ नास्तिक भन्ने भन्दै गर
तिनै आस्तिक भोकै मर्छन काममा नास्तिक पछि सरे।
प्रकाशित: १६ फाल्गुन २०८२ ०९:४९ शनिबार





