२१ असार २०८३ आइतबार
image/svg+xml
अर्थ

तीन सातासम्म टेबुल नै हुन सकेन सुदूरपश्चिमको बजेट

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले असार १ गते मध्यरातमा प्रस्तुत गरेको बजेट तीन साता बितिसक्दा पनि प्रदेशसभामा टेबुल हुन सकेको छैन । बजेटमा प्रतिपक्षको मात्र नभई सत्तारुढ दल नेकपा एमालेले कडा आपत्ति जनाउदै बजेट संशोधन हुनुपर्ने धारणा राखेको छ । सत्तागठबन्धन दलले संशोधन नगरि बजेट पारित हुन नदिने अडान राख्दा बजेट विवाद पेचिलो बनेको हो । विवादका कारण तीन सातासम्म पनि बजेट टेबुल नै हुन नसकेको हो ।

प्रदेशसभामा बजेट टेबुल भईनसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । बिगतका बर्षमा समान्यतया बजेट प्रस्तुत भएकै दिन केही समयपछि अर्को बैठक बसेर बजेट टेबुल हुने गरिन्थ्यो ।  

‘यस बर्ष राती बजेट प्रस्तुत भएकाले त्यसै दिन बजेट टेबुल भएन’उनले भने,‘दोस्रो दिन हुनुपर्ने थियो,अहिले सम्म भएको छैन’। बजेट सँग सम्बन्धित अन्य विधेयकहरू पनि हालसम्म प्रदेशसभामा टेबुल भएका छैनन् । असार २३ गते बजेट टेबुल गरिने उनको भनाई छ । असार १ को मध्यरात १२ बजेपछि स्थगित भएको बैठक बजेट विवादले तीन साता सम्म वस्न सकेको छैन । असार २३ गते बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको जैशीले बताए । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान बजेट बैठकमा टेबुल गरिने कार्यसूची रहेको उनले बताए ।

असार १ गते बजेट प्रस्तुत गरिनुपर्ने संवैधानिक प्रावधान रहेकाले विवादकै बिच बजेट मध्यरातमा प्रस्तुत गरिएको थियो । विपक्षी दल नेकपा र राप्रापाका प्रदेशसभाले बजेट मध्यरातमा प्रस्तुत भएको बिरोध गर्दै प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । चालु र पुँजीगत बजेट तथा मन्त्रालयहरुको बजेट उल्लेख नगरि मध्यरातमा बजेट प्रस्तुत गरिएको थियो ।

बजेट संशोधन नगरि पारित हुन नदिनेमा एमालेको अडान

सत्ता गठबन्धन भित्रकै दल नेकपा एमालेले प्रदेश सरकारका तर्फबाट प्रस्तुत बजेट प्रति चर्को असन्तुष्टि जनाएको छ । बजेटलाई संशोधन नगरि पारित गर्न नदिने नेकपा एमालेको अडान छ । नेकपा एमाले संसदीय दलको बैठकले बजेटमाथिको संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए ।  

प्रदेश सरकारमै रहेको राजनीतिक दलले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गर्न कठिनाई हुन सक्ने आकंलन गरिएको छ ।  

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेको छ । प्रदेश सरकारमा नेपाली काग्रेसबाट मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मामिलामन्त्रीसहित तीन मन्त्री तथा दुई राज्यमन्त्री छन् । नेकपा एमालेबाट तीन मन्त्री र दुई राज्यमन्त्री छन् ।  

बजेट संशोधन नभएमा बजेट पारित नगर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यको भनाई छ । बजेटको विवादले प्रदेश सरकार नै अफ्ठयारोमा परेको छ ।

यसैगरि प्रतिपक्ष दल नेकपाले कमिशन र आर्थिक चलखेल तथा बार्गेनिङमा ल्याइएको बजेट भन्दै कडा विरोध गरेको छ।

नेकपाका संसदीय दलका नेता खगराज भट्टले पैसाको मोलमोलाई गरेर कमिशन खाएर ल्याएको यो बजेटलाई कुनै हालतमा समर्थन गर्न नसकिने बताएका छन् । यसलाई पारित गर्न नदिने पक्षमा आफ्नो दल रहेको उनको भनाई छ। कमिशन खाएर मोटो रकम बुझेर बार्गेनिङ गरेर योजना बेचिएको उनको आरोप छ ।  

मुख्यमन्त्री कमल बहादुर शाहले भने असार मसान्त भित्रै ढुक्क सँग बजेट पारित हुने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका तर्फ वाट आर्थिक मामिला मन्त्री धामीले आर्थिक बर्ष २०८३।०८४ का लागी ३७ अर्व ७० करोडको बजेट प्रस्तुत गरेका  थिए ।  

यो बजेट चालु आर्थिक भन्दा करिव ४ अर्वले बढी हो । चालु बर्षको बजेट ३३ अर्व ४७ करोड ६० करोड ४८ हजार प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित: २१ असार २०८३ १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App