१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

महाबु लेकमा दैलेख-कालिकोटका ६ पालिकाको साझा प्रतिबद्धता

दैलेख र कालिकोट जिल्लाका स्थानीय तहहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले समुद्री सतहदेखि ४ हजार १ सय ६८ मिटर उचाइमा रहेको महाबु लेक क्षेत्रमा अन्तरजिल्ला तथा अन्तरपालिका स्तरीय समन्वयात्मक बैठकको आयोजना गरिएको छ। बैठकले सडक, सुरक्षा र महाबु संरक्षणका लागि साझा प्रतिबद्धता समेत गरेको छ।  

दैलेख–कालिकोटको सिमा क्षेत्र महाबु लेकमा आयोजित बैठकमा दैलेखका नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका तथा कालिकोटका महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठक नारायण नगरपालिकाका प्रमुख लोमन शर्माको अध्यक्षतामा तथा कर्णाली प्रदेश सभाकी उपसभामुख यशोदा न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। बैंठकले साविकको कर्णाली जोड्ने छोटो सडक निर्माणमा प्रदेश संघ सरकार गम्भीर हुनुपर्ने निर्कष भएको महावु गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष प्रकाश राज थापाले बताए।

बैठकले त्रिदेशीय जमुनाहा–कोहलपुर–सुर्खेत–दैलेख–महाबु–कालिकोट हुँदै नाक्चेनाग्लासम्म जोड्ने रणनीतिक सडक निर्माणलाई प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजनका लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। यस्तै, नेपाल सरकारको गौरवको योजनाका रूपमा रहेको पेट्रोलियम पदार्थ उत्खनन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने सहमति समेत गरिएको छ।

त्यसैगरी, अन्तरजिल्ला सुरक्षा समन्वयलाई सुदृढ बनाउने, अवैध रूपमा बाहिरिने जडीबुटी तथा खनिज पदार्थको नियन्त्रण गर्ने, महाबु क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि आवश्यक संरचना निर्माण गर्ने निर्णय गरिएको छ। महाबु गाथ क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि सहभागी ६ वटै पालिकाले सह–लगानीमा डीपीआर तयार गरी आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजनामा समावेश गर्ने सहमति गरेका छन्।

बैठकले महाबु क्षेत्रको समग्र विकास, प्राकृतिक सम्पदाको संरक्षण तथा दैलेख–कालिकोटबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। साथै आगामी दिनमा संघीय तथा प्रदेश सांसदहरूको सहभागितासहित यस्ता समन्वयात्मक बैठकलाई निरन्तरता दिने निर्णय समेत गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App